काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–०७९ को दोस्रो त्रैमासिक (पुस मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सोमा एक सय तीन दशमलव ७९ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा कम्पनीको जीवन बीमा कोष दुई अर्ब ३९ करोड ८१ लाख रहेकोमा यस पुस मसान्तमा सो रकम चार अर्ब ८८ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
यसका साथै कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल बीमाशुल्क एक अर्ब ४० करोड २१ लाख संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ४८ करोड ३१ लाख संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ७७ दशमलव १० प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा एक सय तीन दशमलव ७९ प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ७९ करोड ६४ लाखबाट ११ दशमलव ७२ प्रतिशतले बढाएर ८८ करोड ९८ लाखको उचाइ चुमाएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ४१ दशमलव ६० प्रतिशतले वृद्धि गरी ३२ करोड ७९ लाख रुपैयाँ पु-याएको छ ।
जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम सात अर्ब ६४ करोडमध्ये करिब ७४ दशमलव ६७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने दाबी कम्पनीले गरेको छ ।
हरेक विषम परिस्थितिलाई अवसरको रूपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरूलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरू ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवं नवीनतम जीवन बीमा योजना र व्यावसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरूसहितको ‘सिटिजन टिम’मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।