काठमाडौं । पूर्वाधार विकास बैंकले न्यूनतम ११ प्रतिशत पुँजीकोष कायम गर्नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका पूर्वाधार विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कायम गर्न निर्देशन दिएको भएपनि नेपालमा हाल एउटै मात्र पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको हुँदा अब नेपाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकले न्यूनतम ११ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने देखिएको हो ।
पूर्वाधार विकास बैंकले कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको परिपत्रमा उल्लेख छ । निर्देशन अनुसार संस्थाकोे न्यूनतम चुक्ता पुँजी २० अर्ब हुनुपर्नेछ । साथै, कुल जोखिम भारित सम्पत्तिको ११ प्रतिशत न्यूनतम पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ ।
पूर्वाधार विकास बैंकहरुले पुँजीकोष सम्बन्धी निर्देशनहरुको पालना नगरेमा शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ बमोजिमको कारबाही हुने समेत परिपत्रमा उल्लेख छ । पुँजीकोष भन्नाले प्राथमिक पुँजी र पूरक पुँजीको योग सम्झिनुपर्नेछ । संस्थाले जुनसुकै बखत पनि तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्नुपर्नेछ ।
निर्देशन अनुसार पुँजीकोष सम्बन्धी विवरणहरु तयार गरी राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा बैंक सुपरिवेक्षण विभागमा प्रत्येक महिना समाप्त भएको मितिले १५ दिन भित्र पठाइ सक्नुपर्नेछ । तर, त्रैमासिकको अन्त्यको विवरण भने आन्तरिक लेखापरीक्षकबाट प्रमाणित गराएर पेश गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
आज पुनः आठ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः आठ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही माघ २४ गते पनि राष्ट्र बैंकले १४ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति फागुन ३ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीमध्ये ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको छ । यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ जेठ ३ गते र २०७९ साउन ३१ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुने यो ट्रेजरीमा पुरानो नवीकरणअन्तर्गतको दुई अर्ब रुपैयाँको रहेको छ भने छ अर्ब नयाँ रहेको छ ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो । (आर्थिक दैनिकबाट)