काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाहरूलाई निक्षेपमा गरिएको ब्याजदर वृद्धिको कार्यान्वयन नगर्न आग्रह गरेको छ । चेम्बरले आइतबार विज्ञप्ति जारी गरी आयातित वस्तुहरूमा एलसीबाट हुने कारोबारमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधानले व्यावसायिक क्षेत्रलाई चुनौती सिर्जना भइरहेको अवस्थामा फेरि निक्षेपमा दिइने ब्याजदर वृद्धिले थप चुनौती सिर्जना भएकोे बताएको छ । यसबाट समस्त निजी क्षेत्र आफ्नो व्यवसाय संरक्षण गर्न नसक्ने अवस्था रहेको चेम्बरको भनाइ छ ।
कोभिड १९ को महामारीले सबै उद्यमी व्यवसायीहरू घरेलु, साना, मझौला तथा ठूला उद्योगहरू आक्रान्त भएको बेला व्यावसायिक गतिविधिलाई शिथिल बनाउने गरी ल्याइएको ब्याजदर वृद्धिले बैंक तथा वित्तीय संस्थालाई मात्रै फाइदा पुग्ने भएको चेम्बरले जनाएको छ । आयातलाई व्यवस्थित गरी निर्यात प्रवर्द्धन गर्नुपर्ने र रेमिट्यान्सको चुहावटलाई रोक्नुपर्ने बेलामा व्यवसायलाई प्रतिकूल हुनेगरी लागू गरिएको बैंकिड तथा मौद्रिक नीतिले आपूर्तिमा थप समस्या निम्त्याउने, तथा कालान्तारमा यसले वस्तुहरूको उपभोग्य मूल्य बढाउने र प्रतिस्पर्धी क्षमतामा ह्रास आउने भई निर्यात उद्योग धराशायी हुने र राजस्वमा समेत प्रतिकूल असर पर्ने भएकाले यसतर्फ समयमै केन्द्रीय बैंकको ध्यानाकर्षण हुन अति जरुरी रहेको चेम्बरको भनाइ छ ।
ब्याजदर वृद्धिबाट दीर्घकालीन रूपमा मुलुकको अर्थतन्त्रलाई नै समस्याग्रस्त पार्ने चेम्बरको दाबी छ । तरलता समस्या समाधानका वैकल्पिक उपाय भएको भन्दै चेम्बरले ब्याजदर वृद्धिमार्फत तरलताको दीर्घकालीन समाधान नहुने बताएको छ । तरलता समस्याको समधान गर्न सरकारले पुँजीगत खर्च बढाउन कडा कदम चाल्नुपर्ने चेम्बरको धारणा रहेको छ ।