काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी (आईभीएफ) सञ्चालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिएको हो ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्टट्यूब बेसी (आईभीएफ) सञ्चालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो । २०७८ माघ २५ गते सो निवेदनउपर कार्यबाही भई सचिवस्तरको निर्णयबाट नर्भिकलाई आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिइएको हो । जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम नर्भिकलाई आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिइएको महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।
उनका अनुसार जनस्वास्थ्य नियमावली २०७७ ले व्यवस्था गरेअनुसारको मापदण्ड पूरा गरी आईभीएफ सेन्टर सञ्चालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ । यसअघि विभिन्न ठाउँमा सञ्चालनमा रहेका आईभीएफ सेन्टरहरु कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजत प्राप्त थिए । तर जनस्वास्थ्य नियमावलीमा उल्लेख भएको मापदण्ड पूरा गरी तथा नयाँ व्यवस्था आएपछि आईभीएफ सेन्टर सञ्चाालन गर्ने नर्भिक पहिलो अस्पताल हो ।
नर्भिकले अस्पतालको मुख्य भवनको विपरीत दिशामा अलग्गै भवनमा आईभीएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरु तयार गरी परामर्श सेवा सञ्चालन गर्दै आएको छ । सुविधासम्पन्न र आधुनिक आईभीएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ । नर्भिक आईभीएफ सेन्टर अत्याधुनिक जेनेटिक ल्याब भएको देशकै पहिलो र एकमात्र आईभीएफ सेन्टर पनि हो ।