काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । फाइनान्सले आइतबारदेखि नै कार्यान्वयनमा आउने गरी मुद्दती र क्रमिक बचतलाई एकीकृत गरी योजना सार्वजनिक गरेको हो । यसरी सार्वजनिक गरिएको नयाँ निक्षेप योजनाको नाम एकीकृत मुद्दती क्रमिक बचत योजना रहेको छ ।
यस योजनाअनुसार ग्राहकहरूले २५ हजारदेखि १० लाखसम्मको मुद्दती खाता खोली उक्त मुद्दती निक्षेपबाट आर्जित ब्याज मासिक नियमितरूपमा क्रमिक बचत खातामा जम्मा हुँदै जानेछ । यस योजनाअन्तर्गत खोलिएका खाताहरूको समयावधि एकदेखि १० वर्षसम्म हुनेछ । यस निक्षेप योजनाको ब्याजदर मुद्दती निक्षेपकै बराबर रहनेछ । यो खाता खोल्ने ग्राहकहरूलाई दुर्घटना बीमा, निःशुल्क आस्बा सेवा, मोबाइल बैंकिङ तथा कर्जाको सेवा शुल्कमा विशेष छुटलगायतका सहुलियतहरू प्राप्त हुनेछ ।
यसरी ग्राहकहरूले दीर्घकालीन लगानीका रूपमा मुद्दती निक्षेपबाट आर्जित ब्याज क्रमिक बचत खातामा मासिक रूपमा जम्मा हुँदै जाने र ग्राहकहरूले सो सम्पूर्ण साँवा ब्याजको रकम उच्चप्रतिफलसहित एकमुष्ट प्राप्त गर्ने हुँदा यस बचत योजनामा सहभागी हुने निक्षेपकर्ताहरूले उच्च शिक्षा, घरजग्गा खरिद, वैवाहिक कार्यक्रम, धार्मिक कार्यहरू, वैदेशिक भ्रमणलगायतका अवसरहरूलाई अझ सहज एवं उल्लासमयरूपमा सम्पन्न गर्नसक्ने जानकारी प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईँले दिएका छन् ।