अमेरिका । संसारकै धनी टेस्ला तथा स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले पाँच अर्ब ७४ करोड अमेरिकी डलर दानमा खर्च गरेका छन् । विश्वकै उच्च मूल्यवान् अटो निर्माता टेस्लाको ५० लाख ४४ हजार कित्ता सेयर उनले गत वर्ष नोभेम्बर १९ देखि २९ सम्म एक च्यारिटीलाई दान गरेको अमेरिकी धितोपत्र विनिमय आयोगमा सोमबार बुझाइएको कागजातमा उल्लेख भएको रोयटर्सले जनाएको छ ।
कुन च्यारिटीलाई दिएको भन्नेचाहिँ उल्लेख नभएको बताइएको छ । उनले नोभेम्बरको सुरुतिरै आप्ः्ना प्रयोगकर्तासँग सेयर बेच्न ठीक कि बेठीक रहेको सर्वेक्षण गरेका थिए । त्यतिबेला उनले १६ अर्ब ४० करोड डलरको सेयर बिक्री गर्नखोजेका थिए । उनले सन् २०२१ मा ११ अर्ब डलरभन्दा धेरै करबापत बुझाउने पनि बताएका थिए । त्यतिबेला करलाई लिएर चर्चित अमेरिकी राजनीतिज्ञ बर्नी स्यान्डर्स र एलिजाबेथ वारेनसँग उनको विवाद भएको थियो । यो दानसँगै मस्क धेरै दान गर्ने अमेरिकीमा बिल गेट्स र मेलिन्डा फ्रेन्च गेट्सपछि दोस्रो ठूलो दाता बनेका छन् ।