काठमाडौं । राष्ट्रिय योजना आयोगले तीन आर्थिक वर्षको लागि ५४ खर्ब रुपैयाँभन्दा बढी रकमबराबरको बजेट प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ सम्मको अवधिको लागि ५४ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ बजेट हुने अनुमान गरिएको हो ।
आयोगले आफ्नो नियमित कामअन्तर्गत मध्यमकालीन बजेट अनुमान तथा प्रक्षेपण (एमटीईएफ) अन्तर्गत उक्त आकारको बजेट प्रक्षेपण गरेको हो । उक्त बजेटमध्ये चालू खर्च २१ खर्ब ३४ अर्ब ४२ करोड ५५ लाख रुपैयाँ, पुँजीगत खर्च १३ खर्ब ५६ अर्ब ९३ करोड ४० लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ सात खर्ब नौ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बाँडफाँट हुने अनुमान गरिएको छ । त्यस्तै उक्त अवधि तथा बजेटमा स्रोत परिचालनतर्फ राजस्वबाट ३६ खर्ब एक अर्ब दुई करोड छ लाख रुपैयाँ, वैदेशिक अनुदान एक खर्ब ६५ अर्ब ११ करोड ९९ लाख रुपैयाँ, वैदेशिक ऋण आठ खर्ब ९० अर्ब ६८ करोड ८७ लाख रुपैयाँ र आन्तरिक ऋणबाट सात खर्ब ६६ अर्ब ९० करोड रुपैयाँ व्यहोरिने बताइएको छ ।
चालू आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट निर्माण गरिएकोमा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि भने १७ खर्ब ९३ अर्ब १० करोड रुपैयाँ र आर्थिक वर्ष २०८०/०८१ को लागि १९ खर्ब ९७ अर्ब ८० करोड रुपैयाँको बजेट हुने आयोगको प्रक्षेपण रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को लागि चालू खर्च छ खर्ब ९६ अर्ब ४३ करोड रुपैयाँ, पुँजीगत खर्च चार खर्ब ४७ अर्ब ७१ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ४१ अर्ब १९ करोड रुपैयाँ बाँडफाँट हुने अनुमान गरिएको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ को लागि चालू खर्च सात खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ, पुँजीगत खर्च पाँच खर्ब ३१ अर्ब ११ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ७९ अर्ब १८ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।
यसरी प्रत्येक आर्थिक वर्षलाई हेर्ने हो भने चालू, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ विनियोजत बजेट दोहोरो अंकमा नहुने निश्चित देखिएको छ । जसले गर्दा नेपाली जनतालाई विकास खर्च दोहोरो अंकमा देखिनको लागि अझै लामो समय लाग्ने देखिन्छ ।
आर्थिक वर्ष २०७९/०८० मा स्रोत परिचालनतर्फ राजस्वबाट ११ खर्ब ८३ अर्ब ४० करोड रुपैयाँ, वैदेशिक अनुदान ५५ अर्ब २० करोड रुपैयाँ वैदेशिक ऋणबाट दुई खर्ब ९० अर्ब रुपैयाँ र आन्तरिक ऋणतर्फ भने दुई खर्ब ६४ अर्ब ५० करोड रुपैयाँ हुने आकलन गरिएको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा स्रोत परिचालनतर्फ राजस्व, वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणमा वृद्धि हुने बताइएको छ । जसअनुरुप उक्त आर्थिक वर्षमा स्रोत परिचालनतर्फ राजस्वबाट १३ खर्ब ६६ अर्ब ८० करोड रुपैयाँ, वैदेशिक अनुदानबाट ५० अर्ब रुपैयाँ, वैदेशिक ऋणबाट तीन खर्ब १७ अर्ब ६० करोड रुपैयाँ र आन्तरिक ऋणबाट दुई खर्ब ६३ अर्ब ४० करोड रुपैयाँ प्राप्त हुने आकलन गरिएको छ ।
उक्त वित्तीय विवरण तयार गर्दा आयोगले स्रोत परिचालनतर्फ विद्यमान कोभिड १९ को संक्रमणको विषम अवस्था तथा आवश्यकताको आधारमा नेपाल सरकारको वित्तीय आकारलाई समेत मध्यनजर गरी स्रोत अनुमान तथा आकलन गरेको बताएको छ । आर्थिक वर्ष २०७६/०७७ र चालू आर्थिक वर्षमा राजस्वको परिचालनमा कठिनाइ आए पनि आगामी तीन आर्थिक वर्षमा १७ प्रतिशत वृद्धिदरको प्रक्षेपण/आकलन गरिएको छ । वैदेशिक सहायतालाई सो अनुसार परिपूरक स्रोतको रुपमा परिचालन हुने आंकलन गरिएको छ भने आन्तरिक ऋण वाञ्छित सीमाभित्र रहने गरी उठाउने गरी अनुमान गरिएको छ ।