काठमाडौं । एनएमबी बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७ दशमलव ५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत् कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत् आयोजना रेमिट हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित आयोजना हो । रेमिट हाइड्रो लिमिटेडको मुख्य लगानीकर्ता हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड तथा रेमिट्यान्सकर्ताहरू लगानी रहनेछ ।
एनएमबी बैंकले समझदारीपत्रमा हस्ताक्षरपश्चात् अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई समेत सामेल गराई सहवित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गर्ने जानकारी दिएको छ । घुन्सा खोला जलविद्युत् आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहनेछ । एनएमबी बैंकले हालसम्म ४६ वटा जलविद्युत् आयोजनाहरूमा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी वातावरण तथा सामाजिक सुरक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०२२ अनुसार एनएमबी बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ । एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको द ब्यान्कर पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि बैंक अफ द इयर एसिया २०२१ अवार्डबाट सम्मानित भएको छ ।
एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरि दुई सय एउटा शाखा, एक सय ३८ वटा एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।