काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन ९ गते अर्थात् आज सोमबार पुनः आठ अर्ब २३ करोड रुपैयाँबराबरको ट्रे्जरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यस दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रे्जरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही फागुन २ गते पनि राष्ट्र बैंकले आठ अर्ब रुपैयाँबराबरको ट्रे्जरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति फागुन १० गते मंगलबार तोकिएको ट्रे्जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रे्जरीमध्ये ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको छ । यी ट्रे्जरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ जेठ १० गते र २०७९ भदौ ७ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार बिक्री हुने उक्त ट्रे्जरीमध्ये छ अर्ब नयाँ र बाँकी पुरानो नवीकरण अन्तर्गतको छ ।
यसअघि गत साता अर्थात् फागुन २ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको ट्रे्जरी बिल बिक्री गरेको थियो ।