काठमाडौं, माघ २६
लुम्बिनी विकास बैंकले प्रगति माध्यमिक विद्यालयलाई कम्प्युुटर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरमा रहेको उक्त विद्यालयलाई कम्प्युटर विषयको व्यावहारिक शिक्षाका लागि सहयोगस्वरुप बिहीबार पाँच थान कम्प्युटर हस्तान्तरण गरेको हो ।
उक्त कम्प्युटर बैंकका मुख्य प्रबन्धक दिपक खनालले विद्यालयका प्रधानाध्यापक शिवकुमारी अर्याललाई एक समारोहका बीच हस्तान्तरण गरेका हुुन् । त्यस अवसरमा बैंकको तर्फबाट भैरहवा शाखा प्रबन्धक शंकर पाण्डे र बुटवल शाखा प्रबन्धक चन्द्रबहादुर सरुको उपस्थिति रहेको थियो भने विद्यालयको तर्फबाट प्रमुख सल्लाहकार जितबहादुर मल्ल, व्यवस्थापन समितिका सदस्य इन्द्रबहादुर राई, पूर्वकार्यवाहक अध्यक्ष राजेश बुढाथोकी, सल्लाहकार वीरबहादुर कुँवर र शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
साथै बैंकले गत पुस २९ गते १२औं वार्षिक साधारणसभा सम्पन्न गरी २०७५/०७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको पाँच प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको थियो । उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्तापुँजी दुई अर्ब ७१ करोड ६३ लाख पुगेको छ । बैंकले हाल सबै क्षेत्रमा ६६ शाखाहरु र १६ वटा एटीएमबाट आफ्ना करिब दुुई लाख ५० हजार ग्राहकहरुलाई उच्चस्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।