काठमाडौं । महालक्ष्मी विकास बैंंकको स्थगित हुन गएको २०औँ वार्षिक साधारणसभा फाल्गुन १३ गते हुने जानकारी बैंकले दिएको छ । बैंकले सोमबार विज्ञप्ति जारी गर्दै वार्षिक साधारणसभासम्बन्धी जानकारी दिएको हो ।
बैंकले भनेको छ, महालक्ष्मी विकास बैंकको २०औँ वार्षिक साधारणसभा पुस २५ गते तोकिएकोमा गणपुरक संख्या नपुगी स्थगित भएको र पुनः फागुन तीन गते तोकिएको सभा २०७८/१०/३ को अन्तरिम आदेश छलफलको टुंगो नलागेसम्म नगर्नु नगराउनु भनी उच्च अदालत पाटनबाट आदेश भई सभा स्थगित भएकोमा २०७८/१०/०३ मा अन्तरिम आदेश छलफल हुँदा निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी हुने अवस्थाको विद्यमानता नहुँदा अदालतवाट २०७८/०९/२३ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भनी उच्च अदालतबाट आदेश भएको हुँदा साधारणसभा गर्न सकिने अवस्था सिर्जना भएकोले बैंकको स्थगित २०औँ वार्षिक साधारणसभा बैंककोे २०७८/११/०५ गते बसेको सञ्चालक समितिको पाँच सय १६औँ बैठकको निर्णयानुसार स्थगित हुन गएको २०औँ वार्षिक साधारणसभा यही फागुन १३ गते शुक्रबार विहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा हुनेछ ।
वार्षिक साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ एक दशमलव ०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरू सभामा पेस गरिने बैंकले जनाएको छ ।