बझाङ, माघ २६
बझाङको थलारा गाउँपालिकाले गाउँपालिकाभरि रहेका एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रमबमोजिम गाउँपालिकाले ५० वर्ष नाघेका एकल पुरुषहरुलाई सामाजिक सरक्षाभत्ता उपलब्ध गराउनलागेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । समाजिक सुरक्षा भत्ता मासिक पाँच सय रुपैयाँ पाउने गरी गाउँपालिकाका नौवटै वडामा तथ्यांक संकलन गर्ने काम भैरहेको उपाध्यायले जानकारी दिए ।
श्रीमतीको निधन भएर एकल बसेका वा विवाह नै नगरी एकल बसेका पुरुषलाई गाउँपालिकाले समाजिक सुरक्षा भत्ता उपलब्ध गराउन लागेको हो । अहिले सबै वडाले एकल पुरुषको निवेदन, नागरिकता,पत्नी मृत्युको प्रमाणपत्र र फोटाहरु संकलन गर्ने काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।