नयाँ दिल्ली । बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीहरुको मूल्य खस्किएको छ । रुस र युक्रेनको तनावसँगै भर्चुअल मुद्राहरु कमजोर बनेका हुन् । मंगलबार बिटक्वाइन ३६ हजार छ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेकोमा झण्डै ६.५ प्रतिशतले पछिल्लो २४ घण्टामा ओरालो लागेको क्वाइनडेस्कबाट प्राप्त तथ्यांकलाई उद्धृत गर्दै केबल न्युज नेटवकले समाचारमा जनाएको छ । यो सप्ताहान्तमा विश्वकै धेरै मूल्यवान् मानिएको बिटक्वाइन ४० हजार डलरमुनि पुगेको छ । युक्रेन संकट गहिरिँदै जाँदा यसको मूल्य पनि ओरालो लाग्दै गएको छ ।
नोभेम्बरयता बिटक्वाइनले आफ्नो आधाजसो मूल्य गुमाइसकेको छ । त्यतिबेला ६८ हजार नौ सय ९० अमेरिकी डलरसम्म पुगेको बिटक्वाइनको मूल्य अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने समाचारसँगै गहिरिएको भूराजनीतिक अस्थिरताले खस्किँदै गएको छ ।
विश्वको अर्को धेरै मूल्यवान् क्रिप्टो एथेरियमको मूल्य पनि पछिल्लो २४ घण्टामा आठ प्रतिशतभन्दा धेरैले घटेको छ । यसको मूल्य मंगलबार दुई हजार पाँँच सय २० अमेरिकी डलरमा कारोबार भएको छ । विज्ञहरुले बिटक्वाइन चाँडै नै स्थिर नहुने बताएका छन् । रुसले सोमबार मात्रै पूर्वी युक्रेनी राज्यका केही भागलाई स्वतन्त्र राज्य मानेको बताएको थियो । ती ठाउँमा मस्को पक्षधर युक्रेनी विद्रोही रहेका छन् ।