काठमाडौं । पूर्ण सरकारी स्वामित्वको जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५औँ वर्षमा प्रवेश गरेको छ । संस्थान ५५औँ वर्ष प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले प्रतिस्पर्धी बीमा बजारमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । बजारमा रहेको बीमा व्यवसायको मागलाई पूर्ति गर्न सक्नुपर्ने भन्दै उनले सरकारी स्वामित्वको संस्था भएको नाताले बजारको माग र समय सुहाउँदा नयाँ प्रडक्ट, आधुनिक प्रविधि र चुस्त व्यवस्थापनबाट कुशल र प्रतिस्पर्धी संस्था बनाउन सुझाव दिएका छन् ।
विसं २०२४ सालमा पुर्खाहरूले जुन सोचका साथ कम्पनी स्थापना गरेका थिए त्यो बेलाको सोचलाई निरन्तरता दिने अभिभारा संस्थानमा आएको भन्दै उहाँले चुनौतीका बीच आफ्नो अस्तित्व देखाउन आग्रह गरेका छन् । सरकारी स्वामित्वको बीमा संस्थानले आधुनिक प्रविधिको प्रयोग र चुस्त व्यवस्थापनबाट सञ्चालित निजी क्षेत्रका बीमा कम्पनीहरूसँग आफूलाई थप कुशल र प्रतिस्पर्धी बनाउँदै जानुपर्ने चुनौती औँल्याउँदै उनले भने– ‘अन्तर्राष्ट्रिय प्रचलन र अभ्यासअनुरूप बीमा सेवाको विकास, विस्तार र विकास गरी आकर्षक बीमा योजना, सेवाको विविधीकरण, आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यकुशलतामा वृद्धि, आर्थिक अनुशासन, व्यावसायिक कार्ययोजनाको अवलम्बन गर्नुहोस् ।’
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा भनेकै विश्वसनीयताको बजार भएको भन्दै संस्थानले आफ्नो विगतका कार्य प्रगतिको समीक्षा गर्दै नेपालको जीवन बीमा बजारको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्न सदैव प्रयत्नशील रहने तथा नेपाल सरकार, बीमा समिति, महालेखा परीक्षकको कार्यालय, लगानीकर्तालगायतका सरोकारवालाहरूको चासोका रूपमा रहेको लेखापरीक्षण, बीमाङ्कीय मूल्याङ्कन र वित्तीय विवरणलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न आग्रह गरे ।
निर्जीवन बीमा व्यवसायबाट सेवा प्रारम्भ गरेको संस्थानले पछि जीवन एवं निर्जीवन दुवै बीमा व्यवसाय हुँदै हाल जीवन बीवन बीमा व्यवसाय मात्र सञ्चालन गरी आम नेपाली जनमानसमा बीमा व्यवसायलाई चिनाउन र स्थापित गराउन एवं तत्कालीन अवस्थामा बीमा क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन र विकासमा खेलेको भूमिका सराहनीय भएको उनले बताए ।
संस्थान सञ्चालक समितिका अध्यक्ष वसन्तराज पाण्डेले बीमाको क्षेत्रमा विश्वसनीन र भरपर्दो सेवा प्रदान गर्दै आएको संस्थान दक्ष जनशक्ति र आधुनिक प्रविधिको माध्यमबाट उच्चस्तरको सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताए । उचित प्रतिफल र जोखिम व्यवस्थापनको माध्यमबाट छरिएर रहेको पुँजीका विकास तथा उक्त पुँजीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्दै संविधानले लक्षित गरेको समाजवाद उन्मुख स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकासमार्फत देशको आर्थिक समृद्धि र
गरिबी न्यूनीकरणमा संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
संस्थानका प्रशासक कवि पाठकले सरकारी स्वामित्वको संस्थानले जीवन बीमाको क्षेत्रमा क्रियाशील अन्य कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो पहिचानलाई मजबुत गराउँदै लगेको भन्दै नेपाली बीमा बजारमा आफ्नो हिस्सा बढाउँदै लैजाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने बताए । चालू आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा जीवन बीमाप्रदायकहरूको जीवन बीमा कोषमा रहेको चार खर्ब ५२ अर्ब ७९ करोडमध्ये संस्थानको कोषमा ३८ अर्ब ७८ करोड रुपैयाँ रहेको जानकारी दिँदै उनले भने, ‘यस अवधिमा संकलित बीमा शुल्क ७० अर्ब ९१ करोडमध्ये संस्थानको छ अर्ब पाँच करोड रहेको छ ।’ यसरी हेर्दा कुल बीमा कोष र बीमा शुल्क संकलनमा संस्थानको हिस्सा करिब ८ दशमलव ५ प्रतिशत रहेको छ । त्यसैगरी संस्थानमा हाल कायम रहेको कुल बीमा लेख संख्या छ लाख ३९ हजार रहेको छ । कार्यक्रममा संस्थानमा बीमा शुल्कको आधारमा उत्कृष्ट १० जना अभिकर्तालाई पदकसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । यसैगरी संस्थानमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई पनि सो अवसरमा सम्मानित गरिएको थियो ।
देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पुँजीको परिचालन गर्ने तथा विदेशी मुद्राको व्ययभार रोक्ने उद्देश्यले विसं २०२४ साल पुस १ गते प्राइभेट कम्पनीको रूपमा स्थापना भएको संस्थानले सोही वर्षको फागुन ११ गतेबाट निर्जीवन बीमा तथा २०२९ साल फागुन ७ गतेबाट जीवन बीमाको कारोबार सुरु गरेको थियो । लामो समयसम्म जीवन बीमा र निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएकोमा २०७१ सालमा निर्जीवन बीमाको कारोबार राष्ट्रिय बीमा कम्पनीलाई हस्तान्तरण गरी हाल संस्थानले जीवन बीमाको मात्र कार्य गर्दै आएको छ ।