काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिहरुलाई प्रतिव्यक्ति २० लाख रुपैयाँको बीमा गर्नेभएको छ । निर्वाचनमा खटिनेको बीमा गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार आयोगले निर्वाचनमा खटिने एक लाख १० हजार सात सय १३ अनुमानित जनशक्तिलाई उक्त रकमबराबरको बीमा गर्ने भएको हो ।
आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बीमा गर्नको लागि बुधबार सार्वजनिक सूचना प्रकाशन गरी बीमा प्रदायक कम्पनीहरुसँग प्रस्ताव माग गरेको जनाएको छ । यस्तै आयोगले निर्वाचनमा मतदान कार्यमा संलग्न हुनेहरुका लागि कोभिड–१९ को महामारीलाई रोकथाम गर्ने स्वास्थ्य सामग्रीहरु (मास्क र स्यानिटाइजर) र प्राथमिक उपचारका स्वास्थ्य सामग्रीहरु खरिद गर्न पनि बुधबार नै बोलपत्रको आह्वान गरिएको जनाएको छ ।
यस्तै निर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि आयोगले अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट माग गर्ने निर्णय गरी अर्थ मन्त्रालयमा निकासाको लागि अनुरोध गरी पठाएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यसैगरी स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि सूचना प्रकाशन भएबमोजिम हालसम्म २९ वटा राजनीतिक दलहरुले निवेदन दिएका छन् ।