काठमाडौं । नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमान्डरलाई निलम्बन गरेको छ । गत सोमबार राति काठमाडौंबाट दोहा जाने तयारीमा रहेको निगमको ए–३३०, एन नाइन जहाजमा राहदानी तथा टिकटविनाका मानिस फेला परेपछि निगमले सुरक्षा कमान्डरलाई निलम्बन गरेको हो ।
निगमकी प्रवक्त अर्चना खड्काले बिहीबार विज्ञप्ति जारी गरी विमानस्थलको सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमान्डरलाई तत्काल निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिएकी हुन् । साथै, उक्त घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निगमका नायब महाप्रबन्धकको संयोजकत्वमा शुक्रबारभित्र प्रतिवेदन पेस गर्नेगरी एक उच्चस्तरीय छानबिन उपसमिति समेत गठन गरीएको उनले जानकारी दिइन् । निगमले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा यस किसिमका घटना पुनः दोहोरिन नदिनका निम्ति सम्बद्ध सबै पक्षसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएको छ ।