काठमाडौं । रूसले युक्रेनको सार्वभौमिकतामाथि दादागिरी देखाएको छ । महिना दिनदेखि यसको सीमामा लाखौँ सेना उतारेको रूसले बुधबार रातिदेखि लगातार धावा बोलिरहेको छ ।
रुसी सेनाहरु युक्रेनी सार्वभौमिकताको उल्लंघन गर्दै ट्यांकसहित प्रवेश गरेका छन् भने रुसी भूमिबाट ८० भन्दा धेरै पटक युक्रेनी भूमिमा क्षेप्यास्त्र आक्रमण भएको छ । यसमा खासगरी विमानस्थल र युक्रेनी सेनाका शिविरहरुलाई निशाना बनाइएको छ । आक्रमण सुरु भएसँगै युक्रेनी राजधानी किभ छाड्ने नागरिकको संख्या बाक्लो भएको छ ।
सुरुवाती हताहतीका समाचारहरु सार्वजनिक भएका छन् । यसअघि नै संकटकाल घोषणा गरेको युक्रेनले रुसी आक्रमणसँगै देशभर मार्सियल ल कार्यान्वयनमा ल्याएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नागरिकहरुलाई हतियार लगेर रुसी अधिनायकवादको सशक्त प्रतिरोध गर्न अपिल गरेका छन् । उनले अमेरिका र युरोपेली देशहरुलाई रुसविरुद्ध कडा प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।
युक्रेन उत्तर एटलान्टिक सैन्य गठबन्धनको सदस्य राष्ट्र बन्न खोजेपछि रुसले आफ्नो राष्ट्रिय सुरक्षा स्वार्थमा पर्ने भन्दै युक्रेनविरुद्ध सैन्य आक्रमण गरेको हो । सन् २०१४ मा पनि रुसले युक्रेनी सार्वभौमिकतालाई लत्याउँदै युक्रेनको क्राइमिया भूभाग जबर्जस्ती आफ्नो बनाएको थियो । अहिले रुससमर्थक युक्रेनी विद्रोहीको पकडमा रहेको दोनेत्स्क र लुहान्स्कका नागरिकको सुरक्षार्थ बहानामा रुसले युक्रेनमाथि चौतर्फी घेराबन्दी गरेर सैन्य आक्रमण गरेको हो । रुसले तीनतिरबाट युक्रेनलाई घेराबन्दी गरेको सीएनएनले जनाएको छ ।
रुसले युक्रेनी सहरहरु किभ, दोस्रो ठूलो सहर खार्किभ, ओडिसालगायतमा क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनी अधिकारीहरुका अनुसार ४० सैनिकको मृत्यु भएको छ भने अहिलेसम्म १० सर्वसाधारण नागरिकले पनि ज्यान गुमाएका छन् । अमेरिकासहित युरोपेली देशहरुले रुसी आक्रमणको कडा विरोध जनाउँदै विभिन्न प्रतिबन्धहरु लगाएका छन् । युक्रेनले पनि रुसका आधा दर्जन विमान खसालेको दाबी गरेको छ । युरोपेली देशहरुले अझै कडा प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन् ।