काठमाडौं, माघ २६
प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार आफ्नो २४औँ वार्षिक साधारणसभा गरेको हो । तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन पारित गर्नुकासाथै कम्पनीले प्रस्ताव गरेको पाँच प्रतिशत बोनस सेयर तथा करसहित ११ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी जम्मा १६ दशमलव ३२ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पुँजी बृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको बताउँदै आफ्ना ग्राहकवर्गलाई आवश्यक सेवाहरु छिटोछरितो ढंंगले प्रदान गर्दै सरकार तथा नियमनकारी निकायले लिएको नीतिअनुरुप बीमा क्षेत्रमा टेवा पु-याउन प्रतिबद्ध रहेको बताईन ।
कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै जोखिम ब्यवस्थापन, कर्मचारी व्यवस्थापन, तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउनुका साथै प्रभावकारी सेवा सुविधाहरु दिनेतर्फ जोड दिएको उनको भनाई थियो ।