ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायब महाप्रबन्धक (डीजीएम)मा मनोज खड्का नियुक्त भएका छन् । बैंकको पदपूर्ति उपसमितिको सिफारिसअनुसार उनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले फागुन १५ गते आइतबारदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गरेका हुन् । उनलाई आइतबार बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बैंकका अध्यक्ष केबी उप्रेतीसहित सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक, उच्च व्यवस्थापनका कर्मचारीहरूलगायतको उपस्थितिमा नवनियुक्त डीजीएम खड्कालाई स्वागत गरी बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर–१, दुवाकोट निवासी खड्का २९ वर्षदेखि बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका उनले नबिल बैंक, बैंक अफ काठमाण्डू, प्राइम कमर्सियल बैंक, टुरिजम बैंकलगायतका बैंकहरूमा उच्च व्यवस्थापनमा रहेर काम गरेका थिए, तत्कालीन समयमा टुरिजम बैंक मर्जपश्चात् बनेको मेगा बैंकमा उनी नायब महाप्रबन्धकको रूपमा कार्यरत रहेका थिए । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्काको २९ वर्षे बैंकिङ करियरमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्टलगायतको क्षेत्रहरूमा विशेष अनुभव रहेको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेतीले स्वागत गर्दै यसअघिको बैंकिङ क्षेत्रमा भएको अनुभव र नयाँ योजनका साथ कार्य गरी बैंकको विकास र प्रवर्द्धन हुनेगरी कार्य गर्न सफल कार्यकालको शुभकामना व्यक्त गरेका गरेका छन् ।
स्वागत कार्यक्रममा नवनियुक्त नायब महाप्रबन्धक खड्काले आफ्नो अनुभवलाई राष्ट्रिय सहकारी बैंकको व्यवसाय विस्तार र संस्थागत विकासको क्षेत्रमा लगाउने भन्दै सहकारी बैंकलाई आधुनिक टेक्नोलोजी र डिजिटाइजेसनको क्षेत्रमा विकास गर्नेगरी बैंकिङ क्षेत्रमा आफूले हासिल गरेको अनुभवलाई कार्यान्वयनमा ल्याउने गरी कार्य गर्ने उल्लेख गरे । उनले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील गराउने बताएका छन् । कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेती, सञ्चालकहरू सरिता भट्टराई, रामहरी बजगाई, ज्ञानबहादुर तामाङ, पार्वती थापा मगर, केदार मानन्धर, प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई, सहायक महाप्रबन्धक राजेश श्रेष्ठ, विभागीय प्रमुखहरूलगायत केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।