काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रवरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजका लागि आउने भक्तजन एवं दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाएको प्रहरीले जनाएको छ ।
‘महाशिवरात्रि पर्वविशेष ट्राफिक व्यवस्थापन योजना’ बमोजिमको सम्पूर्ण तयारी पूरा गरिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले जानकारी दिए । उनका अनुसार धेरै टाढा–टाढाबाट भक्तजनहरू आउने हुनाले उनीहरूको सुविधाका लागि निर्बाध आवतजावतको व्यवस्था मिलाइएको छ भने गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने स्थानहरू समेत तोकिएको छ । अन्य नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाधरूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरूको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एसएसपी जोशीले बताए ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क–गौशाला–तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइने समेत जोशीले जानकारी दिए । विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एवं भक्तजनहरूका सवारीसाधनहरूलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्हेश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयभित्र कोष तथा पासवाहक सवारीसाधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारीसाधन र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।
ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्नसक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए । उनले तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र वाग्मती करिडोरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालवाहक सवारीसाधनहरूलाई सो खण्डमा निषेध गरी डाइभर्सनको प्रबन्ध मिलाइने समेत बताए । महाशिवरात्रि पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि करिब नौ सय ट्राफिक प्रहरी परिचालन हुने समेत उनले जानकारी दिए ।
ट्राफिक महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारीसाधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।