काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा ८२ अर्ब ३१ करोड रुपैयाँबराबरको सेयर सूचीकृत भएका छन् । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्राप्त तथ्यांकलाई आधार मानेर नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ को पहिलो छ महिनासम्ममा ४६ अर्ब १६ करोडबराबरको डिबेन्चर, १५ अर्ब ४६ करोडबराबरको साधारण सेयर, आठ अर्ब ९३ करोडबराबरको हकप्रद सेयर, आठ अर्ब एक करोडबराबरको बोनस सेयर र तीन अर्ब ७५ करोडबराबरको म्युचुअल फण्ड गरी कुल ८२ अर्ब ३१ करोड बराबरको सेयर नियमित कारोबारका लागि सूचीकृत भएका हुन् ।
राष्ट्र बैंकका अनुसार २०७७ पुस मसान्तमा २२ सय ८६ दशमलव छ अंकमा रहेको नेप्से सूचकांक भने २०७८ पुस मसान्तमा २८ सय ५७ दशमलव आठ पुगेको छ । सोअनुरुप २०७८ पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण ४० खर्ब ३७ अर्ब १३ करोड पुगेको छ । २०७७ पुस मसान्तमा बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।
२०७८ पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय २५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४३ बैंक तथा फाइनान्स कम्पनीहरु र बीमा कम्पनी रहेका छन् भने ४६ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँचवटा होटल, पाँच वटा लगानी कम्पनी, चारवटा व्यापारिक संस्था र तीनवटा अन्य समूहका रहेका छन् । राष्ट्र बैंकका अनुसार २०७७ पुसमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १५ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७ दशमलव एक प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १० दशमलव छ प्रतिशत, लगानी कम्पनीको सात दशमलव दुई प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा चार दशमलव चार प्रतिशत, होटेलको हिस्सा एक दशमलव चार प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शुन्य दशमलव पाँच प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा आठ दशमलव नौ प्रतिशत रहेको छ । नेप्सेमा २०७८ पुससम्ममा सूचीकृत छ अर्ब ५४ करोड सेयरको चुक्ता मूल्य भने छ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो छ महिनामा नेपाल धितोपत्र बोर्डले तीन अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, तीन अर्ब बराबरको म्युचुअल फण्ड, एक अर्ब ५७ करोड रुपैयाँबराबरको साधारण सेयर र एक अर्ब चार करोड रुपैयाँबराबरको हकप्रद सेयर गरी कुल नौ अर्ब ४१ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।