काठमाडौं । कोरोना महामारीपछि रगत अभाव भइरहेको समयमा शिवरात्रिको दिन रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा सयभन्दा बढीले रक्तदान गरेका छन् । नेपाल मानव धर्म सेवा समिति, गौशालाको प्रांगणमा रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल मानव धर्म सेवा समिति सबैभन्दा बढी रक्तदान गर्ने संस्थामध्ये एक हो । २०७० सालमा समिति ब्लड डोनर एसोसियसनबाट सबैभन्दा बढी महिला रक्तदाता गराउने सस्थाको रुपमा सम्मानित भएको थियो । ब्लड डोनर एसोसियसनका अनुसार रगतको कमी पूरा गर्न संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल जनसंख्याको दुई प्रतिशतले रक्तदान गरे रगतको कमीलाई पूरा गर्न सकिन्छ । तर रक्तसञ्चार सेवा केन्द्रका अनुसार नेपालमा एक प्रतिशतभन्दा पनि कमले रक्तदान गर्दै आएका छन् । यस्तो अवस्थामा संस्थाको योगदान महत्वपूर्ण रहेको एसोसियसनका कोषाध्यक्ष मचकाजी महर्जनले बताए ।
विज्ञानले सबै कुराको विकाश गरे पनि रगतको विकास गर्न सकेको छैन । यदि कसैलाई रगतको कमी भए त्यसलाई पूरा गर्न स्वस्थ व्यक्तिबाट रगत लिनुको अर्को विकल्प नभएको पनि उनले स्पष्ट पारे । समितिबाट २०७८ असोज ६ मा चार सय तीन जनाले रक्तदान गरेका थिए । २०७७ फागुन २७ मा एक सय आठ जनाले रक्तदान गरेका थिए । त्यस्तै २०७६ जेठ ३२ मा करिब एक हजार पिन्ट रगत संकलन गरिएको थियो भने असोज चारमा देशभरीबाट एक हजार दुई सय ३७ जनाले रक्तदान गरेका थिए । समितिले विभिन्न अवसर पारेर पटक–पटक रक्तदान गराउने तथा पशुपति तथा गौशाला परिसरमा पशुपति क्षेत्र विकास कोषसँग समन्वय परी सरसफाइजस्ता सामाजिक सेवाका कार्यक्रम गर्दैै आएको छ ।