काठमाडौं । सुनको मूल्य आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँ पुगेको हो ।
त्यस्तै तेजाबी सुन ९८ हजार पाँच सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । १८ गते ९९ हजार पाँच सय रुपैयाँ र ९९ हजार पुगेको छापावाल र तेजाबी सुन बिहीबार पाँच सय रुपैयाँ सस्तो भएको हो ।
चाँदीको मूल्य भने पाँच रुपैयाँ सस्तो भएर १३ सय ८० रुपैयाँ प्रतितोला पुगेको छ । यसअघि बुधबार चाँदी १३ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
संघका अनुसार फागुन महिनामा सुन प्रतितोला ९५ हजार रुपैयाँमाथि रहेको छ । यो महिना छापावाल सुन ९९ हजार पाँच सय रुपैयाँ प्रतितोला र तेजाबी सुन ९९ हजार रुपैयाँ प्रतितोला पुगेको छ । त्यस्तै चाँदी अधिकतम एक हजार तीन सय ८० रुपैयाँ प्रतितोलासम्ममा कारोबार भएको संघले जनाएको छ ।
सुन अन्तर्राष्ट्रिय बजारमा पनि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन बिहीबार प्रतिऔँस १.९९ अमेरिकी डलरले बढेर एक हजार नौ सय ३० दशमलव ८६ अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन ३० दिनयता १२०.८० अमेरिकी डलर, छ महिनायता १००.६१ डलर, एक वर्षता २३२.१० डलर, पाँच वर्षयता ७०४.२० अमेरिकी डलर र २० वर्षयता एक हजार छ सय ३१ दशमलव ३० अमेरिकी डलरले बढेको छ । यो सबै प्रतिऔँसमा भएको मूल्यवृद्धि हो ।
बढेको सुनको मूल्यवृद्धिमा विश्वमा भइरहेका राजनीतिक घटनाक्रमलाई लिने गरिन्छ । एजेन्सीहरुका अनुसार विश्वमा ठूला ठूला युद्ध हुँदा सधैँजसो सुनको मूल्यमा भारी वृद्धि हुने गर्छ । अमेरिकाले इराकमा आक्रमण गर्दा होस् या इरान–अमेरिका तनाव चुलिँदा पनि सुनको मूल्य बढेको हो । अहिले पनि रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ ।
रुसले आक्रमण थालेयता विश्वमा सेयरबजारमा यसको प्रभाव परेको छ । विश्लेषकहरुका अनुसार यस्ता युद्धको प्रभाव दुवै बजारमा पर्छ । यस्तोमा लगानीकर्ताहरु दीर्घकालीन रुपले हेर्ने भएकाले सेयरमा भन्दा बढी सुनमा लगानी गर्न लालायित हुन्छन् ।