जापान । विश्वचर्चित सवारी ब्रान्ड टोयोटाले युक्रेनमाथि आक्रमण गरेको विरोधमा रुसमा उत्पादन र निर्यात रोक्ने घोषणा गरेको छ । पश्चिमा देशका कम्पनीहरुले धमाधम उत्पादन र निर्यात रोकिरहँदा जापानी ब्रान्ड टोयोटाले पनि यस्तो निर्णय लिएको हो ।
जापान सरकारले पनि रुसविरुद्ध प्रतिबन्ध लगाइसकेको छ । टोयोटासँगै होन्डा मोटर र माज्डा मोटरले पनि यही निर्णय लिएका छन् । युक्रेनमाथि स्वेच्छाचारी रुपमा आक्रमण गरेपछि रुसी अर्थतन्त्रले ठूलो स्केलमा प्रतिबन्धको सामना गर्नुपरेको छ । टोयोटाले रुसी सहर सेन्ट पिटर्सबर्गमा ८० हजार सवारीसाधन उत्पादन गर्दै आएको छ भने २ हजार रुसी नागरिकलाई रोजगारी दिएको छ ।
विश्वका चर्चित अन्य कार कम्पनीहरु मर्सिडिज बेन्ज, फोर्ड, बीएमडब्लुले यसअघि नै कार उत्पादन र निर्यात रोकिसकेका छन् । यता शिपिङ कम्पनीहरु एमएससी, मायस्र्कलगायतले कन्टेनर शिपिङ रुसतिर र रुसबाट नगर्ने निर्णय लिइसकेका छन् ।