काठमाडौं । कार्यालय व्यवस्थापन र कर्मचारीहरुको पारिश्रमिकमा नै बैंक तथा फाइनान्स कम्पनीहरुको ४३ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा सञ्चालनमा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी समेतका ६१ वटा संस्थाहरुले कर्मचारीको तलबभत्ता र कार्यालय व्यवस्थापनमा मात्र कुल ४३ अर्ब ८६ करोड ५० लाख रुपैयाँ खर्च गरेका छन् ।
उक्त खर्चमध्ये कर्र्मचारीहरुको पारिश्रमिकमा २६ अर्ब ३२ करोड ७० लाख र कार्यालय सञ्चालन शीर्षकमा १७ अर्ब ५३ करोड ८० लाख रुपैयाँ खर्च भएको राष्ट्र बैंंकको भनाइ छ । बैंक तथा फाइनान्स कम्पनीहरुले छ महिनाको अवधिमा गरेको कुल खर्चमध्ये वाणिज्य बैंकहरुले मात्र गरेको खर्च रकम भने ३८ अर्ब ४९ करोड २० लाख रुपैयाँ रहेको छ । जसमध्ये कर्मचारीहरुको पारिश्रमिकमा २३ अर्ब ३० करोड ९० लाख र कार्यालय सञ्चालनमा १५ अर्ब १८ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । राष्ट्र बैंकका अनुसार विकास बैंकहरुले भने चालू आवको पछिल्लो छ महिनामा चार अर्ब २५ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् । उक्त खर्चमध्ये कर्मचारीहरुको पारिश्रमिकरुपमा दुई अर्ब ४० करोड ९० लाख र कार्यालय सञ्चालन शीर्षकमा एक अर्ब ८४ करोड ५० लाख रुपैयाँ खर्च गरेको देखिएको छ ।
फाइनान्स कम्पनीहरुले भने चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा एक अर्ब ११ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् । सोमध्ये कर्मचारीहरुको पारिश्रमिकमा ६० करोड ९० लाख र कार्यालय सञ्चालन शीर्षकमा ५१ करोड रुपैयाँ खर्च गरेका छन् । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुको शाखा संख्या भने छ हजार एक सय ६९ वटा पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार आठ सय ५६ वटा पुगेको छ भने विकास बैंकहरुको कुल शाखा संख्या एक हजार ६५ वटा पुगेको छ ।
फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या पछिल्लो अवधिमा दुई सय ४८ वटा पुगेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुको एटीएम काउन्टरको संख्या भने चार हजार चार सय १७ वटा पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र चार हजार ६५ वटा एटीएम काउन्टरहरु सञ्चालनमा छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुको सञ्चालनमा रहेको एटीएम काउन्टरको संख्या भने क्रमशः तीन सय नौ र ४३ वटा रहेका छन् ।
राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरुको कुल संख्या भने पछिल्लो अवधिमा ६७ वटा पुगेको छ । यी संस्थाहरुको देशभर सञ्चालनमा रहेको कुल शाखा संख्या भने पाँच हजार ४६ वटा छ । पछिल्लो समय वोमी र सूर्योदय लघुवित्त वित्तीय संस्थाले मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्नको लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति लिइसकेका छन् । यी संस्थाहरुले एकीकृत कारोबार सुरु गरेपश्चात् भने लघुवित्त संंस्थाहरुको संख्या घट्ने देखिएको छ ।
