काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य लिएको बिजबजार लिमिटेड र समृद्धि फाइनान्सबीच सम्झौता भएको छ । आरकेडि होल्डिङ्सद्वारा ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालित ई–कमर्स प्लेटफर्म बिजबजारसँग फाइनान्सले सम्झौता गरेको हो । सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज गौतम र समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार समृद्धि फाइनान्सका ग्राहकहरूले बिजबजारबाट सामान खरिद गरी समृद्धि फाइनान्सको मोबाइल बैंकिङ वा कनेक्ट आईपीयसमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा तीन सय रुपैयाँसम्मको क्यास ब्याक पाउने भएका छन् । साथै समृद्धि फाइनान्सले खाता खोल्ने प्रत्येक नयाँ ग्राहकलाई बिजबजारको दुई सय रुपैयाँबराबरको सपिङ भौचर प्रदान गर्नेछ भने एक वर्षका लागि एक लाखवा बढीको मुद्दती खाता खोल्ने ग्राहकहरूलाई बिजबजारको पाँच सय रुपैयाँबराबरको सपिङ भौचर प्रदान गर्नेछ ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लोहनीले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्वपूर्ण भूमिका खेल्न यस्तो सहकार्य आवश्यक रहेको बताएका छन् । साथै डिजिटल नेपाल फ्रेमवर्कमा बिजबजारसँग सहकार्य गर्न पाएकोमा खुसी समेत व्यक्त गरेका छन् ।
उक्त अवसरमा बोल्दै बिजबजारका प्रमुख कार्यकारी अधिकृत गणेश गौतमले लाखौँ मानिसहरूलाई अनलाइन जोड्ने हाम्रो लक्ष्य र भिजन पूरा गर्न, हामीले समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई एक रणनीतिक व्यापार साझेदारको रूपमा लिएको र समृद्धि फाइनान्स र बिजबजारले सहकार्य गरी दुवै पक्षका लागि उपयोगी हुने क्रस मार्केटिङ गतिविधिहरू सञ्चालन गर्ने कुरामा विश्वस्त रहेको बताए । साथै, उनले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित साथै डिजिटल प्रविधि चलाउन प्रोत्साहन गर्दै अघि बढ्ने कुरा बिजबजारले जनाएको छ ।
फाइनान्सले चालूू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६० लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक करोड ६७ लाख तीन हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ६५ करोड १५ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४१ करोड ४६ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई करोड ९८ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ७८ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने पाँच लाख ६४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले १८ करोड ८३ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी छ लाख तीन हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा खुद ब्याज आम्दानी १६ लाख ८३ हजार रुपैयाँले ऋणात्मक रहेको फाईनान्समा ३१ दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर सात दशमलव ८१ प्रतिशत रहेको थियो ।