काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ता र रोजगारदाताको संख्या बढेको छ । एक आर्थिक वर्षमा एक लाख जनाभन्दा बढी योगदानकर्ता सूचीकृत हुँदा संख्या बढ्न गएको कोषले जनाएको छ । चालू आर्थिक वर्षसम्ममा कुल तीन लाख २० हजार एक सय ८८ जना योगदानकर्ता कोषमा सूचीकृत भएका छन् । कोषका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/०७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७/०७८ मा ३६ हजार २० जना र आर्थिक वर्ष २०७८/०७९ मा एक लाख २७ हजार एक हजार १६ जना योगदानकर्ता सूचीकृत भएका हुन् ।
त्यस्तै कोषमा सूचीकृत हुनेमा योगदानकर्ता मात्र नभई रोजगारदाता समेत छन् । उनीहरुको समेत संख्या बढेको पाइन्छ । चालू आर्थिक वर्षसम्ममा १६ हजार आठ सय ३५ जना रोजगारदाता सूचीकृत भएका छन् । जसअनुरुप आर्थिक वर्ष २०७५/०७६ मा तीन हजार दुई सय ६१ जना, आर्थिक वर्ष २०७६/०७७ मा नौ हजार दुई सय दुई जना, आर्थिक वर्ष २०७७/०७८ मा एक हजार ८३ जना र आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार तीन सय नौ जना रोजगारदाता सूचीकृत भएका छन् । मुलुकभर रहेको सम्पूर्ण संघ/संस्थालाई कोषमा आबद्ध हुन निर्देशन दिए पनि सबै भने आएको पाइँदैन । तर, यति हुँदाहुँदै पनि कोषमा सूचीकृत हुने योगदानकर्ता र रोजगारदाता भने बढेका छन् । जसले गर्दा अहिलेसम्ममा योगदान रकम १३ अर्ब ८५ करोड रुपैयाँ संकलन भएको पाइन्छ ।
श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको कोषले उनीहरुलाई सुरक्षा योजनाअन्तर्गत रकम समेत उपलब्ध गराएको छ । जसअन्तर्गत कुल दाबी भुक्तानी रकम ८१ करोड ३२ लाख रुपैयाँ, अवकाश दाबी रकम ६६ करोड ८२ लाख रुपैयाँ, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम ११ करोड २३ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम एक करोड नौ लाख र आश्रित परिवार सुरक्षा दाबी रकम दुई करोड १९ लाख रुपैयाँ वितरण गरेको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुरुप कोषले योगदानकर्ता, रोजगारदाता सूचीकृत तथा रकम संकलन र वितरण गर्ने गर्दछ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।
कोषले सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । बैंकिङ प्रणलीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ स्थानीयतहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएको छ । त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा सूचना प्रणाली सफ्टवयेर तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।