अमेरिका । अमेरिकी संसदमा रुसी कच्चा तेल आयातमाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज बुलन्द हुँदै गएको छ । ‘म प्रतिबन्धको पक्षमा छु, आयात रोकौँ’, अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यो हप्ता भनेकी थिइन् ।
यही हप्ता डेमोक्रेटिक सेनेटर जोय मान्चिन र रिपब्लिकन सेनेटर लिसा मुर्कोवस्कीले दुवै पार्टीको समर्थनमा एक विधेयक ल्याएका छन् । त्यसले पनि रुसी तेलमाथि प्रतिबन्धको समर्थन गर्छ । रुसमाथि लगाइएका अन्य प्रतिबन्धभन्दा यो निकै फरक हुनेछ । यो कदमले सबैजसो देशलाई रुसी तेल प्रयोगमा रोक्न सक्नेछ ।
कडाइसाथ रुसी तेल आयात अमेििरकाले रोक्दा पेट्रोलपम्पको मूल्यमा तात्विक असर नपर्न पनि सक्नेछ । किनभने एसिया र युरोपमाजस्तो अमेरिकामा रुसी तेल धेरै प्रयोग नै हुँदैन । गत डिसेम्बरमा रुसले अमेरिकामा प्रतिदिन ९० हजार ब्यारेल कच्चा तेल निर्यात गरेको अमेरिकी सरकारी तथ्यांकले देखाएको छ । यसको तुलनामा अमेरिकाले इराकबाट दुई लाख २३ हजार, साउदी अरेबियाबाट चार लाख ७२ हजार र मेक्सिकोबाट चार लाख ९२ हजार ब्यारेल प्रतिदिन आयात गर्दै आएको छ । क्यानडाबाट मात्रै अमेरिकाले हरेक दिन ४१ लाख ब्यारेल तेल आयात गर्छ ।
डिसेम्बरको परिमाणलाई हेर्ने हो भने अमेििरकी तेल आयातमा रुसी तेलको हिस्सा केवल दुई प्रतिशत हुन आउने अमेरिकी ऊर्जा सूचना प्रशासनले जनाएको छ । यद्यपि केही अमेरिकी प्रशोधन केन्द्रले रुसी तेल लिन्छन् । त्यसबाट पेट्रोल, जेट इन्धन, डिजेल र अन्य उत्पादन गर्छन् । डिसेम्बरमा रुसले चार लाख पाँच हजार ब्यारेल प्रतिदिन कच्चा तेल र पेट्रोलियम उत्पादन निर्यात गरेको थियो । यो भनेको अमेरिकी कच्चा तेल र उत्पादन आयातमा पाँच प्रतिशत मात्रै हो । त्यसकारण अमेरिकी प्रशोधन केन्द्रले रुसी तेलविना पनि बाँच्न सक्ने देखिएको छ । रुसबाट तेल आयात रोक्दा त्यो सांकेतिक विरोधजस्तै हुने सीएनएनले उल्लेख गरेको छ ।