काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहेका महिलाहरूलाई सम्मान गरेको छ । साथै परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषहरूलाई पनि सम्मान गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा परिसंघले आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका महिलाहरू रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति भट्टराई बस्नेत, प्रतिमा थापा, अलिशा श्रेष्ठ, निलम पाण्डे, अनुपमा खुँजेली, उपाशना पौडेल, आँचल कुँवर, सुमिति शाक्य, गीता श्रेष्ठ, सोना खातिक र महिलाबाट नेतृत्व प्रदान भएको गोरख काली गुल्मलाई सम्मान गरेको हो । यसैगरी नेपाल पेपर क्राफ्टलाई पनि सम्मान गरिएको छ ।
यसैगरी महिलाहरूलाई प्रोत्साहन गर्ने प्रभुराम भण्डारी, शम्भु धमला, अभयशंकर श्रेष्ठ, डम्बर खनाल, विक्रम श्रेष्ठ, दिनेश बहादुर श्रेष्ठ, अमिरप्रताप राणा, ललितकुमार लोहिया, डा रवीन्द्र खुञ्जेली, द्विराज शर्मा, अरुणध्वज अधिकारी, इयान ओक्ले वाल, निर्वाण चौधरी र प्रनेश शर्मालाई पनि परिसंघले सम्मान गरेको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले नयाँ पुस्तालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्न आग्रह गरिन् । उनले लैंगिक समतामूलक समाज निर्माणका लागि सबैले आफ्नो ठाउँबाट योगदान गरिनुपर्नेमा समेत जोड दिइन् । साथै उनले संस्थागत सामाजिक उत्तरदायित्वको रकम महिला सशक्तीकरण र महिला उद्यमशीलता विकासमा लगाउन व्यावसायिक संस्थाहरूलाई आग्रह गरिन् ।
कार्यक्रममा परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले महिलाहरूलाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउँदै दीगो आर्थिक विकासको आधार तयार गर्नुपर्नेमा जोड दिए । दक्षिण एसियामा नेपालले महिलाहरूलाई वित्तीय पहुँच विस्तारमा उल्लेखनीय काम गरिरहेको उनले बताए । अहिलेको विश्वमा महिलाहरूले महत्वपूर्ण क्षेत्रमा सफल नेतृत्व गरिरहेको पनि उनले उल्लेख गरे ।
परिसंघअन्तर्गतको वुमन लिडरसिप फोरमकी सभापति छाँया शर्माले भविष्यको दीगोपनका लागि आजैबाट लैंगिक समानताका लागि काम गर्नुपर्ने बताइन् । महिला उद्यमशीलता विकास गरी अर्थतन्त्रको दीगो विकासका लागि पनि सरोकारवालाहरूले सोच्नुपर्नेमा उनको जोड थियो । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मंगलबार मनाइँदै छ । यसै अवसरमा परिसंघले सोमबार सम्मान कार्यक्रम आयोजना गरेको हो ।