काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा सस्तो दरमा भ्वाइस कल गर्नसक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस कल गर्नसक्ने कम्पनीले जनाएको छ ।
यस अफरमा विभिन्न छवटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध छन् । सोमबारदेखि सञ्चालनमा आएको अफरअन्तर्गत ग्राहकले करसहित १४ रुपैयाँदेखि तीन सय ८५ रुपैयाँसम्म शुल्क पर्ने विभिन्न एक दिन, तीन दिन, सात दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याकहरूबाट फाइदा लिन सक्छन् । यी भ्वाइस प्याकहरूमार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दरविना भ्वाइस सेवा लिन सक्छन् ।
ग्राहकले एक दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् भने तीन दिन समयसिमा रहेको ६५ टक टाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्छन् । त्यसैगरी ९४ रुपैयाँमा सात दिन समयसीमा रहेको एक सय ५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसारको भ्वाइस प्याक छनौट गरी सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अलि धेरै समयसीमासहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकले १४ दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन् । यसका साथै ग्राहकका लागि २८ दिन समयसीमा रहेको दुईवटा अन्य प्याकहरु पनि छन्, जसअन्तर्गत ग्राहकले दुई सय ६५ रुपैयाँमा ४७५ मिनेट टक टाइम र तीन सय ८५ रुपैयाँमा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् । आफ्नो आवश्यकताअनुसार ग्राहकले यीमध्ये कुनै पनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्नसक्ने कम्पनीको भनाइ छ । आफ्ना ग्राहकका लागि भ्वाइस सेवा अझै सुलभ बनाउँदै सबै लोकल नेटवर्कमा कल शुल्क घटाउँदै आकर्षक भ्वाइस प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ ।