काठमाडौं । नबिल बैंकले क्रेडिट कार्डअन्तर्गत ‘नबिल एफडी कार्ड’ (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । यसअन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरूलाई क्रेडिट कार्ड सुविधा प्रदान हुने बैंकले जानकारी दिएको छ । नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाशप्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको बैंकले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकहरूका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्नेभएको छ । प्रयोगकर्ताले यो कार्ड पीओएस वा एटीएममा आफ्नो सहजताअनुसार प्रयोग गर्न सक्नेछन् । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइलफोन र ल्यापटपजस्ता वस्तुहरू खरिद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ ।
नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल, ग्राहकहरूलाई आफ्ना नजिकका परिवारका सदस्यहरूका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प, सुविधा प्रदान गरेको छ । यस योजनाअन्तर्गत दुई लाख रुपैयाँ प्रतिकार्ड सीमा तोकिएको र मुद्दती निक्षेपको ८० प्रतिशत सम्मकार्ड सीमा प्राप्त गर्न सकिनेछ । यो मुद्दती निक्षेप (फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भूत विषेशतासहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको वस्तुको मजा लिँदै मुद्दती निक्षेपमा ११ दशमलव शून्य तीन प्रतिशतका दरले लोभलाग्दो ब्याज समेत आर्जन गर्न सक्नेछन् । यस्ता किसिमको योजनाले ग्राहकलाई अझ राम्रो वित्तीय निर्णय लिन सक्षम बनाउनेछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ ।