काठमाडौं । कृषि विकास बैंकले कृषिको समावेशी रूपान्तरणका लागि ‘मूल्य श्रृङ्खला’ परियोजनाको शुभारम्भ गरेको छ । अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) बीच गत असोजमा भएको सम्झौताबमोजिम छ वर्षको लागि सञ्चालन हुने कृषिको समावेशी रूपान्तरणका लागि मूल्य श्रृङ्खला परियोजना कार्यक्रमको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव तथा कार्यक्रमका प्रमुख अतिथि बैकुण्ठ अधिकारीले तिलोत्तमा स्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा यही फागुन २२ गते एक कार्यक्रमका बीच विधिवत् शुभारम्भ गरेका हुन् ।
हालैका दिनमा सरकारले कृषि लगानीका लागि अगुवा बैंकको रूपमा परिभाषित गरेको, किसान कार्ड/एप्स जारी गरिरहेको, कृषि बन्ड जारी गरी स्रोत संकलनमार्फत कृषि क्षेत्रमा वित्तीय सहयोग पु-याउँदै आएको कृषि विकास बैंकलाई उक्त कार्यक्रम सञ्चालनको लागि नेपाल सरकारमार्फत (आईएफआईडी) बाट आगामी ६ वर्षभित्र लगानी गर्नेगरी करिब ८० मिलियन अमेरिकी डलर सहुलियत वित्तीय ऋण सहयोग उपलब्ध हुनेछ ।
बैंकका अनुसार यो कार्यक्रम लुम्बिनी, बागमती र मधेश प्रदेशका २८ जिल्लाहरूमा १२ वटा बाली तथा पशु वस्तुको मूल्य श्रृङ्खला विकास गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषिविकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रूपमा तोकिएको छ ।
उक्त अवसरमा बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापाले यो परियोजनाको संक्षिप्त जानकारी प्रस्तुत गर्दै यस कार्यक्रमले बजार मागमा आधारित कृषि वस्तुको व्यवसायिकीकरणमार्फत साना कृषकहरूको आयस्तर वृद्धि हुने, रोजगारी सिर्जना हुने तथा कृषिको व्यवसायिकीकरण, समावेशीकरण तथा प्रतिस्पर्धात्मक विकास हुने अपेक्षा रहेको र प्रत्यक्षरूपमा देशभरिका एक लाख २० हजार साना कृषक परिवारहरू विशेषगरी महिला, युवा, दलित, जनजातिलगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविकोपार्जनमा सुधार गर्ने जानकारी दिए । उनले कार्यक्रमको तेस्रो पूर्वाधार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशले सञ्चालन गर्ने समेत जानकारी दिए ।
कार्यक्रमको शुभारम्भ गर्दै कृषि सचिव अधिकारीले परियोजना कार्यान्वयनमा मन्त्रालयको भूमिका प्रस्ट पार्दै कार्यक्रम कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कृषि विकास बैंंक किसानबाटै टाढा भएको हो कि भन्ने भान भएको वर्तमान परिवेशमा यस परियोजनाको माध्यमबाट फेरि किसानका माझमा आफ्नो पहिचानलाई अझ प्रस्ट पार्नेछ भन्ने विश्वास गर्दै परियोजनाको सफल कार्यान्वयनको लागि शुभकामना समेत व्यक्त गरे ।
दात्तृ निकाय कृषि विकासको लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) तर्फबाट आवासीय निर्देशक रोशन कुकीले आईएफएडी र नेपाल सरकारले विगत चार दशकदेखि सहकार्य गर्दै आएको र हालसम्म नेपालमा लागू भएका विभिन्न आयोजनामध्ये मूल्य अभिवृद्धि श्रङ्खला (भिटा) सबैभन्दा ठूलो आयोजना रहेको र यसले नेपालमा कृषिको व्यवसायिकीकरणको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे ।
त्यसैगरी इन्भेस्ट इन्भेस्टमेन्ट नेदरल्यान्डका प्रतिनिधि रोविन बुस्टेटले भिटासँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं.१५ र १६ मा निर्माण हुने सेमलार बहुउद्धेश्य एकीकृत कृषिथोक बजारको गुरुयोजनाको बारेमा संक्षिप्त जानकारी दिए । त्यसैगरी आईएफएडी परामर्शदाता श्यामबहादुर खड्काले सहभागीहरूबाट आएका जिज्ञासालाई प्रस्ट पार्दै परियोजनाको विषयमा थप जानकारी गराए । त्यस्तै कार्यक्रममा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रका प्रमुख महेन्द्रनाथ पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
उक्त कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेश कुमार श्रीवास्तवले दात्तृ निकायमार्फत प्राप्त उक्त सहुलियतपूर्ण रकम सही ढंगबाट यस प्रदेशका कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मूल्य श्रृङ्खलामा आबद्ध गराई लगानी गरिने र यसबाट अधिकांश किसान लाभान्वित हुने जानकारी गराए ।
कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कार्यक्रमको समापन गर्दै परियोजनाअन्तर्गतको यो रकम बैंकले स्थापनाकालकै उद्देश्यअनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि हुनेगरी तथा आयात प्रतिस्थापन हुनेगरी मूल्य श्रृङ्खलाको अवधारणाबाट लगानी गरिने बताए । साथै उनले सो कार्यक्रम गर्नका लागि कृषि विकास बैंकलाई जिम्मेवारी दिइएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय, आईएफएडीलगायत सरोकारवाला सबै निकायलाई धन्यवाद दिए ।
कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय गैरसरकारी निकाय, आयोजना, परियोजनाका प्रतिनिधिहरू कृषक तथा उद्यमीहरू तथा प्रदेश कार्यालयका कर्मचारीहरू, बैंक कर्मचारी संगठनका प्रतिनिधिहरू र पत्रकारहरू गरी ६० जनाकोे उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बैंकका वरिष्ठ शाखा प्रमुख प्रेम प्रसाद खनालले गरेका थिए ।