कोलम्बो । श्रीलंका सरकारले अनुमति प्राप्त बैंक तथा अन्य औपचारिक च्यानलमार्फत अमेरिकी डलर पठाउने श्रीलंकाका विदेशमा रहेका कामदारले प्राप्त गर्दैै आएको हालको प्रोत्साहन रकम बढाउने प्रस्तावलाई अनुमोदन गरेको छ ।
मंगलबार कोलोम्बोमा मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमाध्यमलाई गराइएको जानकारीअनुसार केन्द्रीय बैंकले विदेशी कामदारले विप्रेषणमार्फत तिरेको प्रत्येक डलरको ३८ रुपैयाँ (०.१७ अमेरिकी डलर) भुक्तानी गर्ने घोषणा गरेको हो । यसअघि केन्द्रीय बैंकले विप्रेषणमार्फत श्रीलंका पठाएको प्रति डलर १० रुपैयाँ (०.०४ डलर) तिरेको थियो ।
मन्त्रालयका प्रवक्ता अधिकारीले विदेशी भूमिमा रहेका श्रीलंकाली नागरिकल वार्षिक करिब सातदेखि आठ अर्ब अमेरिकी डलर श्रीलंकामा पठाउने गरेको बताए । सरकारले सन् २०२१ मा अमेरिकी डलरको विनिमय दर २०० रुपैयाँ कायम गरेपछि विप्रेषणबापत प्राप्त हुने यो रकम करिब २.५ अर्ब डलरले घटेको थियो । विदेशमा काम गर्ने श्रीलंकालीलाई औपचारिक माध्यमबाट पैसा पठाउन प्रोत्साहन भत्ता बढाउने निर्णय लिइएको हो ।
फागुन २४ गते एक अमेरिकी डलरको आधिकारिक खरिददर २२५.२० रुपैयाँ रहेको केन्द्रीय बैंकले मङ्गलबार दिउँसो जनाएको छ । अमेरिकी डलरको बिक्री दर भने सोमबार घटेको मूल्य अनुसार २२९.९९ रुपैयाँमा कायम भएको छ ।