काठमाडौं । नेपाल र जर्जियाले पर्यटन र लगानी प्रवद्र्धनमा सहकार्य गर्ने भएका छन् । नेपाल भ्रमणमा रहेका भारतका लागि जर्जियाका राजदूत अर्चिल जुलियाशभिलीले दुई देशबीचको आर्थिक सहकार्य विस्तारमा जोड दिएका हुन् । नेपाल उद्योग परिसंघमा परिसंघको नेतृत्वसँग भएको छलफलमा राजदूत जुलियाशभिलीले नेपाल भ्रमणमा धेरै जर्जियाली नागरिक इच्छुक रहेको बताए ।
‘नेपालमा पर्वतारोहणका लागि धेरै जर्जियाली नागरिक इच्छुक छन्,’ उनले भने, ‘हामीले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न सक्छौँ ।’ उनले नेपाल उद्योग परिसंघ र जर्जियाको निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी नेपालमा लगानी प्रवर्द्धनमा सहकार्य गर्न सकिनेमा पनि जोड दिएका थिए । जर्जियालाई नेपालमा उत्पादन हुने वस्तुहरूको निर्यात गन्तव्यको रूपमा विकास गर्न सकिने उनले बताए ।
छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युत् र पर्यटन क्षेत्रमा अपार लगानी सम्भावना रहेकाले जर्जिया र अन्य युरोपेली देशका लगानीकर्ताले यहाँ लगानी गर्नसक्ने बताए । उनले नेपाली हस्तकला, गलैँचा र कपडान्य उत्पादनको राम्रो निर्यात गन्तव्य बनाउन आपसी सहकार्यमा राजदूत जुलियाशभिलीलाई आग्रह गरे ।
अध्यक्ष अग्रवालले कोभिड १९ को प्रभाव कम हुँदै गएको नेपाली अर्थतन्त्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिकसँगै बाह्य लगानी आवश्यक रहेको उल्लेख गरे । उनले नेपालमा लगानीका लागि जर्जियाली लगानीकर्तालाई उत्प्रेरित गर्न पनि राजदूत जुलियाशभिलीलाई आग्रह समेत गरे ।
भेटका क्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपाल र भारतबीच भएको व्यापार सन्धिअनुसार नेपालमा उत्पादन हुने वस्तुहरू भन्सार छुटको सुविधामा भारत प्रवेश गर्नसक्ने भन्दै नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले बजारको चिन्ता लिनुनपर्ने बताए ।
छलफलमा परिसंघका गभर्निङ काउन्सिल सदस्य एवं नेपालका लागि जर्जियाका अवैतनिक वाणिज्यदूत शिवरतन शारडा, परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल र वीरेन्द्रराज पाण्डे एवं महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो ।