काठमाडौं । उत्पादित वस्तु तथा सेवाहरुलाई बजार अभाव हुन नदिन रिसर्च कम्पनी स्थापना हुने भएको छ । निजी क्षेत्र, बैंक तथा बीमा क्षेत्रका अनुभवी व्यक्तिहरुको सक्रियतामा नेक्सजेन रिसर्च एण्ड मार्केटिङ कम्पनी गरिने भएको हो ।
वस्तु र सेवा उत्पादन हुनुअघि सोको आवश्यकताको अध्ययन अनुसन्धान नहुनु र बजार व्यवस्थापनको निर्क्योल नगरेको कारण धेरै उद्योग व्यवसाय घाटामा चलेको वा बन्द भएको अवस्था छ । एउटाले कुनै उद्योग व्यवसाय चलाएको देखेर सोही प्रकृतिको उद्योग व्यवसाय खोल्ने लहरले भएको उद्योग व्यवसाय पनि अस्वस्थ र कडा प्रतिस्पर्धाको कारण चल्नसकेको छैन । नेपालको दुईतिर ठुला छिमेकी हुनु, अर्बौँ जनसंख्याको बजार हुनु, उत्पादित वस्तुको लागत कम हुनु र बजार व्यवस्थापन बलियो हुनुको कारण पनि खुला सिमाना भएको तीन करोडको सानो बजारमा राम्रै अध्यन अनुसन्धान गरेर मात्र उद्योग व्यवसाय खोल्नुपर्ने हुन्छ । अझ वर्तमानको विषम र संकटग्रस्त उन्मुख आर्थिक अवस्थामा धेरै सोचेर विचार गरेर मात्र नयाँ उद्योग व्यवसायमा हात हाल्नुपर्ने महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई बताउँछन् ।
उनका अनुसार सोही जटिल परिस्थितिलाई हेरेर नयाँ खोल्ने उद्योग व्यवसाय स्थापना पूर्वअध्ययन अनुसन्धान तथा कमजोर अवस्थामा, सञ्चालनमा रहेका उद्योग व्यवसायको प्रभावकारी बजार व्यवस्थापनमा सहयोग गर्ने गरी रिसर्च एण्ड मार्केटिङ कम्पनी खोल्ने योजना बनाइएको हो । भट्टराईका अनुसार देशैभरिबाट ५० जनाजतिको प्रतिनिधित्व हुने गरी प्रस्तावित कम्पनीको एक करोड अधिकृत तथा ५० लाख रुपैयाँ जारी र चुक्ता पुँजी हुनेछ । सातवटै प्रदेशबाट अध्यन अनुसन्धान र बजार व्यवस्थापनमा रुचि हुने सक्रिय व्यक्तिलाई ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको सेयर दिइनेछ ।
एक वर्षभित्र सातवटै प्रदेशमा कार्यालय स्थापना गर्ने, बैंक, बीमा, पुँजीबजार, उद्योग व्यवसाय, कृषि, पर्यटनलगायत अन्य क्षेत्रलाई आफ्नो वस्तु र सेवाको विषयमा उत्पादन पूर्वको अनुसन्धान गर्न तथा उत्पादनपछि बजारीकरणमा सहयोग गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको उनले बताए । कम्पनी स्थापनापछि विभिन्न ठाँउमा रहेको संस्थापक लगानीकर्तालाई फोकल प्वाइन्ट बनाई गरिने अध्यन अनुसन्धान र बजारीकरणबाट हुने आम्दानीको अधिकांश भाग काम गर्नेले राम्रो आय आर्जन गर्न सक्छन् भने केही भाग कम्पनीले लिई लगानीकर्तालाई पनि राम्रो प्रतिफल दिने गरी कार्ययोजना बनाउँदै गरेको जानकारी दिइएको छ ।