काठमाडौं । कामना सेवा विकास बैंकले प्रजनन स्वास्थसम्कन्धी जानकारी एवं निःशुल्क सेनेटरी प्याड वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदयित्वअन्तर्गत अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पहिलो पाइला नेपालको सहकार्यमा नवलपरासी जिल्लाको सुनवल–१ स्थित सुनवल माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौरमा महिला समूहलाई लक्षित गरी बृहत् कार्यक्रम आयोजन गरी प्रजनन स्वास्थ्य सम्बन्ध जानकारी गराउनुका साथै निःशुल्क सनेटरी प्याड वितरण गरेको हो ।
यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हरेक व्यक्तिको हुने हुँदा महिला तथा किशोरीहरूलाई प्रजनन स्वास्थ्यले प्रजनन प्रणाली र प्रजनन अंगहरूको स्वास्थ्य साथै यौनसँग सम्बन्धित विषयहरूको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजन गरिएको थियो । प्रजनन स्वास्थ्यसम्बन्धी उचित शिक्षाको अभाव साथै महिनावारीमा प्याडको उचित प्रयोग गर्न नजान्दा किशोरीहरूमा स्वास्थ्य समस्याहरू बल्झिने गरेको हुँदा सोको जागरूकताको लागि यो कार्यक्रम आयोजन गरिएको थियो । उक्त कार्यक्रममा बैंकका कर्मचारी, पहिलो पाइला नेपालका प्रतिनिधिहरूलगायत स्थानीयहरूको उपस्थिति रहेको जानकारी बैंकले दिएको छ ।
बैंकले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धिदरका साथ करिब एक अर्ब खुद सञ्चालन आम्दानी गरेको छ । यो त्रैमासिक सम्ममा (गतवर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैरसञ्चालन आम्दानी भए पनि करपछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ । बैंकको निक्षेप ४८ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने कर्जा ४४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १० दशमलव ६९ प्रतिशत र १० दशमलव ९८ प्रतिशतले बढेको हो ।
बैंकको पुँजी पर्याप्तता अनुपात १२ दशमलव ३२ प्रतिशत कायम गरेको छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा रहेको छ । बैंकको हालको चुक्ता पुँजी तीन अर्ब १४ करोड र जगेडा कोषमा नौ दशमलव ६७ करोड रहेको छ । साथै निष्क्रिय कर्जा अघिल्लो त्रैमासिकमा एक दशमलव ७९ प्रतिशत रहेकोमा यस त्रैमासिक सम्ममा एक दशमलव ७७ प्रतिशतमा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५ दशमलव ७४, प्रतिसेयर नेटवर्थ १३३ दशमलव ०२ र आधार दर नौ दशमलव दुई प्रतिशत रहेको छ ।