काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको बैंकले कपिलवस्तु स्थित कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको हो ।
बैंकले कैलाश आश्रम धामद्वारा सञ्चालित मनकामना गुरुकुलमा भवन निर्माणकार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो । बैंकले कैलाश आश्रम धामलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमुख राजेन्द्र घिमिरे, जितपुर शाखाका प्रबन्दक लेखेन्द्र जिसी र अन्य कर्मचारीहरूको उपस्थिति तथा कैलाश आश्रम धामको तर्फबाट आधिकारिक सदस्यहरूको उपस्थिति रहेको थियो ।
यो सहयोगबाट गुरुकुलमा आउने भक्तजनहरू विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरूलाई सहजताका साथ पूरा गर्न मदत पुग्ने धारणा बैंकले लिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै यो सहयोग र कार्यक्रमबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६० करोड २४ लाख छ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले ६१ करोड ५५ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी पाँच अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा ९९ अर्ब ३५ करोड ४७ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब चार करोड ८६ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५३ करोड २९ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा २२ करोड २१ लाख ९९ हजार रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने तीन दशमलव ४१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ८६ अर्ब ९० करोड २९ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ९१ करोड ९२ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब १६ करोड २४ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको थियो ।