बेइजिङ । चीनको रेडक्रसले युक्रेनलाई लाखौँ डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ । रेडक्रसले ५० लाख युआन अर्थात् सात लाख ९१ हजार अमेरिकी डलर सहयोग गर्ने चीनको विदेश मन्त्रालयले जनाएको छ ।
उक्त सहयोगमा खाद्यान्न र दैनिक अत्यावश्यक वस्तुहरु रहनेछन् । युक्रेनको आग्रहमा युक्रेनी रेडक्रसलाई उक्त सहयोग उपलब्ध गराइन लागेको मन्त्रालयले जनाएको छ । चीन रुसको पक्षराष्ट्र हो । अहिले रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमणको चीनले अहिलेसम्म आलोचना गरेको छैन ।
रुसले दुई हप्तायता युक्रेनमा निर्मम आक्रमण गरिरहेको छ । जल, स्थल र वायुसेनाको प्रयोग गरी रुसले आक्रमण जारी राखेको छ । दुवैतर्फ ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । युक्रेनका भौतिक संरचनामा व्यापक क्षति भएको छ ।