काठमाडौं ।सरकारले नेपाल आयल निगम लिमिटेडको ३३औँ कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि कार्यकारी निर्देशक नियुक्त गर्न गठित सिफारिस समितिले बुधबार थानीसहित तीन जनाको नाम सिफारिस गरेको थियो।
उनीसँगै उक्त पदका लागि विशेष आर्थिक क्षेत्र (सेज)का कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अवकाशप्राप्त सरकारका सहसचिव जीवनप्रकाश सिटौला पनि यही पदका आकांक्षी थिए । तर उनीहरुलाई थामीले उछिनेका हुन् ।
तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले कार्यकाल पूरा गरेपछि सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि गत पुस २५ गते खुला प्रतिस्पर्धाको सूचना निकालेको थियो ।
सूचनासँगै १७ जनाको आवेदन परेको थियो । तीमध्ये सिफारिस समितिले उक्त तीन जनाको सूची तयार गरेको थियो । वि.सं. २०७४ सालमा तत्कानी प्रधानमन्त्री शेरबहादुर देउवा सरकारकै पालामा थानी नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समेत नियुक्त भएका थिए। पेशाले इन्जिनियर उनले त्यहाँ दुई वर्ष सञ्चालकको जिम्मेवारी सम्हालेका थिए । २०७६ कात्तिक ३ गते राजीनामा दिएका उनलाई कांग्रेसमा सभापति देउवानिकट मानिन्छ । उनले केही वर्ष एभरेष्ट इन्जिनियरिङ क्याम्पसको प्रिन्सिपलका रुपमा समेत काम गरेका थिए ।
नेपाल इन्जिनियरिङ एसोसिएसनको महासचिव समेत भएका उनी इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार पनि बनेका थिए। त्यस्तै थानी सडक बोर्ड नेपालको सञ्चालकका रुपमा पनि रहेका थिए भने अहिले पनि कांग्रेसनिकट इन्जिनियरिङ संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष रहेका छन् । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट जलस्रोतमा स्नातकोत्तर गरेका थानीले समाजशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् ।