काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्यसचिव जीवनारायण काफ्लेले मन्त्रीसँगको मिलेमतोमा कलेजहरुसँग पैसा उठाएर अपग्रेडिङ गरेका छन् । सीटीईभीटीका अध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल हुन् । पौडेलको सहमतिमा सदस्यसचिव काफ्लेले पैसा लिएर कलेजहरुको अपग्रेडिङ गरेका हुन् । त्यसको लागि काफ्लेले परिषद्का स्तर निर्धारण महाशाखाका उपनिर्देशक दामोदर देवकोटालाई समेत परिचालन गरेका थिए ।
अपग्रेडिङ गर्दा सदस्यसचिव काफ्लेले कलेजअनुसार रकम नै तोक्ने गरेको स्रोतले जानकारी दियो । तोकिएको रकम नदिनेको कलेजको अपग्रेडिङ रोक्ने काम भएको छ । चिकित्सा शिक्षा आयोगले नर्सिङ भर्ना बन्द गराउँदा चुप लागेका सदस्यसचिव काफ्लेले विषय थप र अपग्रेडिङ गर्दा प्रतिकलेज पाँचदेखि १० लाख रुपैयाँ लिएको स्रोतले जानकारी दियो ।
परिषद् स्रोतका अनुसार सदस्यसचिव काफ्ले आफैँले कलेज सञ्चालकलाई फोन गरेर यति रकम दिने भए परिषद्बाट निर्णय गरी अपग्रेडिङ गर्ने नत्र नगर्नेसम्मको धम्की दिने गरेका थिए । विशेष गरी उनको साथमा कोही पनि उच्च कर्मचारी नरहेको अवस्थामा सदस्यसचिव काफ्लेले मन्त्री र उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीको साथ खोजेका थिए । आफूलाई नेकपा एमालेले नियुक्त गरे पनि पुराना मन्त्रीका हैसियतले गोपालमान श्रेष्ठ र गिरिराजमणि पोखरेलसँग साँठगाँठ गरी सदस्यसचिव काफ्लेले मन्त्रीलाई भाग दिएर अपग्रेडिङ गरेको खुलेको छ । यसअघि मन्त्री पौडेल सदस्यसचिव काफ्लेको कामप्रति असन्तुष्ट थिए । काफ्लेले पछि अपग्रेडिङबाट आएको रकम बाँडफाँट गर्ने भएपछि मन्त्री समेत सकारात्मक भएर निर्णय गरेका थिए ।
‘मन्त्रीमात्र होइन उनले त नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लसँग समेत सम्बन्ध कायम गरी मन्त्री र अन्यसँग कुराकानी मिलाएका थिए’, परिषद्का एक कर्मचारीले भने । उनी सबै पार्टीको सदस्यता देखाउन सक्छन् । पूर्वमन्त्री श्रेष्ठ र पोखरेललाई समेत दाइको नाता लगाउन भ्याउने काफ्लेले आफूलाई सदस्यसचिव नियुक्त गरेका मन्त्री कृष्णगोपाल श्रेष्ठलाई आफू पार्टीका खाँट्टी कार्यकर्ता भएको भन्दै सदस्यसचिवको पद हत्याउन पुगेका थिए ।
‘पछिल्लो समय उहाँ पूरै कमाउ धन्दामा लाग्नुभएको छ । फुर्सद भयो कि भत्ताकै लागि विभिन्न कलेज जाने गर्नुभएको छ । उहाँको अधिकांश समय कसरी दाम कमाउने भन्ने मात्र धन्दा देखिएको छ’, एक कर्मचारीले भने, ‘काफ्ले अहिले मन्त्री पौडेलको ‘एस म्यान’ बन्नुभएको छ । भाग पाउने भएपछि मन्त्री पौडेलले अपग्रेडिङको विषयलाई सजिलै स्वीकृति दिएका छन् ।’