काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशबाट आयात हुने उपभोग्य वस्तु र सेवाले विदेशी मुद्राको मागलाई अत्यधिक रूपमा बढाएको बताएका छन् । यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गरेको उनको भनाइ छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय सम्मेलनको बिहीबार वीरगञ्जमा उद्घाटन गर्दै उनले बढ्दो आयातले मुलुकमा औद्योगीकरण र आत्मनिर्भर अर्थतन्त्रको विकासमा समेत चुनौती सिर्जना गरेको बताए । बढेको विदेशी मुद्राको माग र व्यापारघाटालाई काम गर्न स्वदेशी उत्पादन वृद्धि गर्नुको विकल्प नभएकाले निजी क्षेत्रको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
लघु, घरेलु र साना उद्योगको विकास नगरी मुलुकको विकास हुन नसक्ने उनको भनाइ थियो । लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले यसको दिगो र प्रतिस्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म गर्न सकिने बताए । नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्वूर्ण भूमिका निर्वाह गर्ने र लाखौँ नेपालीलाई रोजगार दिने यी क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गरी साझा धारणा बनाउन आवश्यक रहेको उनले बताए ।
साथै उनले कोेभिड–१९ को नकारात्मक प्रभाव खेपिरहेका लघु, घरेलु तथा साना उद्योगको क्षेत्रलाई उत्थान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए । दिगो विकास र समृद्धि सरकारको मुख्य लक्ष्य रहेकोले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको विकास अपरिहार्य रहेको उनको भनाइ थियो । साथै उनले मुलुक छिटै अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन गइरहेको बताए । साथै उनले उद्यमशीलताको संस्कृतिलाई युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्ध बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याए । विश्व बजारमा नयाँ अवसरको रुपमा देखा परेको सूचना प्रविधिलगायतको सेवा क्षेत्रको प्रवद्र्धन समेत यसै क्षेत्रबाट भइरहेको भन्दै उनले यसबाट अपेक्षित लाभ उठाउन समेत उद्योगी तथा युवा समूहलाई आग्रह गरे ।
कार्यक्रममा महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले मुलुकभित्र लघु, घरेलु तथा साना उद्योगहरुको विकास, विस्तार र प्रवद्र्धनको क्षेत्रमा देखिएका चुनौती र सम्भावनाहरुका सम्बन्धमा राज्यलाई धेरैपटक आवश्यक राय÷सुझावसहित सहकार्य गर्दै आएको बताए । साना उद्यमको माध्यमबाट मुलुकको अर्थतन्त्रलाई लियो र दिगो बनाउनेतर्फ केन्द्रित रहेको उनको भनाइ थियो । ‘स्थानीय स्रोत र साधनको परिचालन गर्ने सवालमा होस या मुलुकभित्र रोजगारी सिर्जना गर्ने सवालमा होस्, घरेलु र साना उद्योगको योगदान उच्च रहेको तथ्यांकले पुष्टि गरेकै छ’, उनले भने, ‘अझ छरिएर रहेको पुँजीको परिचालन र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्ने कार्यमा समेत यसै क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ ।’
यस्तै उनले सकारले प्रदान गर्ने सहुलियत कर्जा वितरण सहज नभएको बताए । साथै उनले विभिन्न निकायबाट व्यवसायहरुलाई प्रदान गरिएको अनुदान र सहयोग वास्तविक उद्यमीले पाउन नसकेको गुनसो गरे । महाधिवेशनवाट तीनवटै तहका सरकारले लघु घरेलु तथा साना उद्योगको क्षेत्रमा अवलम्बन गर्नुपर्ने सुधारका कार्यक्रम र नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराउने उनको भनाइ छ ।
सम्मेलनको उद्घाटन समारोहमा संघिय सरकारका खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी, मधेश प्रदेश सरकारका खानेपानी तथा ऊर्जा विकासमन्त्री ओम प्रकाश शर्मा, वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी, महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, महासंघ अन्तरगत केन्द्रीय महिला उद्यमी समितिका निवर्तमान सभापति अञ्जु उपाध्यायलगायतले साना व्यवसायीप्रति बैंकले गरेको विभेदले उद्यमशीलताको विकासमा अड्चन पु-याइरहेको बताएका थिए ।
वीरगञ्जमा भइरहेको महासंघको २५औँ राष्ट्रिय महाधिवेशनमा देशभरिबाट चार सय २६ जना र केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय सम्मेलनमा देशभरिबाट दुई सय ५२ जना प्रतिनिधि सहभागी छन् । शुक्रबार र शनिबार दुवै संगठनको छुट्टाछुट्टै बन्दसत्र सञ्चालन हुने र बन्दसत्रबाट आगामी वर्षका नीति तथा कार्यक्रम तय हुनुका साथै नयाँ नेतृत्वसमेत चयन गरिने आयोजकले जनाएको छ ।