लन्डन । कच्चा तेलको मूल्य बिहीबार फेरि बढेको छ । मुख्य उत्पादकले रुसी तेलमाथि प्रतिबन्ध लागेको अवस्थामा मद्दत गर्ने या नगर्ने दुविधाका बीच कच्चा तेलको मूल्य फेरि बढेको हो ।
संयुक्त अरब इमिरेट्सले तेल निर्यातक देशहरुको संगठनलाई कच्चा तेल उत्पादन वृद्धि गर्न जोड दिएको थियो । तर बुधबार १७ प्रतिशतले घटेको कच्चा तेल बिहीबार फेरि पाँच प्रतिशतले बढेको बीबीसीले जनाएको छ ।
अमेरिकाले तेलको मूल्य घटाउन आफ्ना पक्षराष्ट्रलाई सञ्चितिमा राखेको तेल निकाल्न अनुरोध गरिरहेको छ । उसले विश्वमा कच्चा तेलको आपूर्ति सहज पार्न पनि यसलाई जोड दिइरहेको छ ।
फेब्रुअरीयता कच्चा तेलको मूल्य ३० प्रतिशतले बढेको छ । सोसँगै यो हप्ता त कच्चा तेल प्रतिब्यारेल १३९ अमेरिकी डलरसम्म पुगेको थियो । तर पछि फेरि घटेर बुधबार भने १०६ अमेरिकी डलर प्रतिब्यारेलमा झरेको छ । बिहीबार भने फेरि बढेर प्रतिब्यारेल ११६ अमेरिकी डलर पुगेको छ ।
धेरै पश्चिमा राष्ट्रहरुले अहिले ओपेक देशहरुलाई कच्चा तेलको मूल्य बढाउन भनिरहेका छन् । ओपेकको नेतृत्वकर्ता साउदी अरेबियाले ओपेक प्लस अर्थात् रुससमेतलाई मूल्य युद्धमा सहभागी नभई तेल उत्पादनमा बढोत्तरी गर्न भनिरहेको छ ।