काठमाडौँ, माघ २७
ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा दुई अर्ब १४ करोड खुद मुनाफा आर्जन गरेको छ । बैकका अनुसार उक्त मुनाफामा साविकको जनता बैंक नेपालको २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश गरिएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल एकआपसमा गाभिई गत मंसिर २० गतेदेखि एकिकृत कारोबार शुरु भएको थियो । मर्जरपश्चात् ग्लोबल आइएमई बैंक पुँजी तथा व्यवसायको हिसावले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । हाल बैंकको प्राथमिक पुँजी २४ अर्ब ८७ करोड, कुल पुँजी २८ अर्ब १६ करोड, कुल निक्षेप दुई खर्ब १३ अर्ब र कर्जा तथा ऋण लगानी एक खर्ब ९८ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।
बैंकले हाल देश तथा विदेशमा रहेका आफ्ना आठ सय १७ शाखा तथा सेवा संजाल मार्फत १९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले दुई सय ७० शाखा, दुई सक्ष् ५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर र दुई सय ४९ शाखारहित बैकिङ सेवामार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको छ । यसै आर्थिक वर्षमा खोलिने थप ५९ शाखासहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको छ ।