काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्सबीच सम्झौता भएको छ । बैंकका अनुसार आईसीएफसी फाइनान्सका ग्राहकहरूलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा ग्लोबल आईएमईको तर्फबाट नायब महाप्रबन्धक कल्याणविक्रम पाण्डे र आईसीएफसीको तर्फबाट नायब महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार आईसीएफसी फाइनान्सका ग्राहकहरूले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा आईसीएफसी फाइनान्सको सिफारिसमा ग्लोबल आईएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन् । साथै, दुवै संस्थाको सहमतिमा दुई संस्थाबीच निक्षेप सङ्कलन, रेमिट्यान्स, अन्तरबैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिङ र एफएक्स म्यानेजमेन्टलगायतका सेवाहरूमा सहकार्य हुनेछ । यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागु हुनेछ ।
बैंकले मुलुकभर दुई सय ८७ वटा शाखा, दुई सय ५२ वटा एटीएम काउन्टर, दुई सय ७४ वटा शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा मुलुकबाहिर तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ६० वटा सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ६६ करोड ३३ लाख ८४ हजार रूपैैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले दुई अर्ब ३१ करोड ५१ लाख १८ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा दुई खर्ब ७१ अर्ब ९० करोड १६ लाख ११ हजार रूपैयाँ निक्षेप सङ्कलन गरी दुई खर्ब ५६ अर्ब ४२ करोड ५४ लाख ६६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ७९ करोड ५२ लाख ३७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंंकमा एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ५२ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रूपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रूपैयाँ निक्षेप सङ्कलन गरी दुई खर्ब २८ अर्ब ६५ करोड १४ लाख २७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ७७ करोड १८ लाख ५४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ६९ प्रतिशत रहेको थियो ।
त्यसैगरी, राष्ट्रियस्तरको ‘ग’ वर्गको वित्तीय संस्था आईसीएफसी फाइनान्सले मुलुकभर २० शाखा, १८ एटीएम र एउटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ । फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १३ करोड २३ लाख ६३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले १७ करोड ५१ लाख रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १२ करोड ७१ लाख १५ हजार रूपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा १५ अर्ब ४५ करोड ४८ लाख ३८ हजार रूपैयाँ निक्षेप सङ्कलन १२ अर्ब ८६ करोड ९४ लाख ८४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ९० लाख ४३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव छ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ३८ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा पाँच करोड आठ लाख ५३ हजार रूपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १४ अर्ब ३४ करोड २८ लाख १० हजार रूपैयाँ निक्षेप सङ्कलन गरी १० अर्ब ३७ करोड १५ लाख १२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ७५ लाख ७९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ८४ प्रतिशत रहेको थियो ।