काठमाडौं । नेपालस्थित बोटलर्स नेपाल लिमिटेडको सेयर हस्तान्तरणमा अर्ब राजस्व चुहावट भएको छ । सोसँगै सेयर हस्तान्तरणमा संलग्न संयुक्त अरब इमेरिट्स, दुबईस्थित कम्पनी कोका–कोला साब्को एसियाका बोर्डका सदस्यहरूविरुद्ध नगद र कैद सजाय माग गर्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनसमक्ष मुद्दा दायर गरेको छ । विभागले करछली गरेको भन्दै शुक्रबार मुद्दा दायर गरेको हो ।
अप्रत्यक्ष लेनदेनमार्फत बोटलर्स नेपाल लिमिटेडको निहित सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार कर दायित्व वहन गरी बोटलर्स नेपाल लिमिटेडबाट राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ र दफा ४ बमोजिम साब्को एसियाका बोर्ड सदस्यहरुले तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार राजस्व चुहावट हुन आएको विभागले जनाएको छ ।
कोका–कोला साब्को एसियाको बोटलर्स नेपालमा रहेको सेयर संख्या १४ लाख ८४ हजार तीन सय १ को बिक्रीबापत जम्मा चार अर्ब ९६ करोड ७९ लाख ५५ हजार पुँजीगत लाभ कायम हुने र सोमा आएका ऐन २०५८ को दफा २ बमोजिम २५ प्रतिशतका दरले एक अर्ब २४ करोड १९ लाख ८८ हजार दफा ७ बमोजिको शुल्क (०.१ प्रतिशत) का दरले हुने तीन करोड ४१ लाख दफा ११८ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने नौ करोड ७८ लाख छ हजार दफा ११९ बमोजिम ब्याज १५ प्रतिशतका दरले एक अर्ब १० करोड २२ लाख र दफा १२० बमोजिमको शुल्क एक अर्ब २४ करोड १९ लाख गरी कुल बिगो तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार राजस्व चुहावट गरिएको छ । कोका–कोला साब्को र युरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य तीन हजार आठ सय ८३ रुपैयाँ रहेको थियो र सोमा कोका–कोला साब्कोको प्रतिकित्ता सेयर खरिद मूल्य पाँच सय २६ लाई लागतको रुपमा घटाउँदा हुन आउने रकम तीन हजार तीन सय ४७ प्रतिकित्ता पुँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ ।
राजस्व चुहावटमा संलग्न बोर्ड सदस्यहरुमा शुक्ला वासेन, मेलभिन टान चुन पिन, मोहम्मद अमिन गोनिम, गौरव घोसाले, सुदिप बजरिया, देवव्रत मुखर्जी, सुमान्ता दत्त, जावाहर सोली र संकेत राय रहेका छन् । सोसँगै विभागले बोर्डका सम्पूर्ण सदस्यहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ बमोजिम बिगो तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार असुल गरी बिगोको शतप्रतिशत जरिवाना तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार गरी कुल सात अर्ब ४३ करोड ६३ लाख आठ सय नगद र दफा २३ बमोजिम कैद सजाय माग गरेको छ ।
विभागका अनुसार बोटलर्स नेपाल लिमिटेडको निहित सेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठूला करदाता कार्यालय लगायत सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई तथा सेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडिको आयकर ऐन २०५८ को दफा ५७ को प्रक्रिया पूरा गरी आर्थिक वर्ष २०७१/०७२ को छुट्टाछुट्टै आय विवरण पेश नगरी तथा निहित सेयर स्वामित्वमा परिवर्तन भएको कारणले सिर्जना हुने आयकर ऐन २०५८ बमोजिमको कर दायित्व पूरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ बमोजिमको कसुर गरेको पुष्टि भएको छ ।
नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोका–कोला साब्को एसियाको शतप्रतिशत सेयर कोका–कोला साब्कोले आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्ट (ईआर)लाई बिक्री गरेको कारणबाट बोटलर्स नेपाल लिमिटेडमा रहेको निहित सेयर स्वामित्वमा परिवर्तन भई सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको थियो ।
त्यस्तै, आर्थिक कारोबार तथा लेखापरीक्षणमा संलग्न पदाधिकारीलाई समेत सजायको माग गरिएको छ । आर्थिक कारोबार तथा लेखापरीक्षणमा संलग्न व्यक्तिहरुमा भने प्रदिप पाण्डे, पुनित चन्द्रपाल वर्सने, राजिव टन्डन, भरतबाबु दाहाल, सुमित गोयल, अशोक कुमार मण्डल, डा.त्रिलोचन उप्रेती तथा सञ्जीव कुमार मिश्र रहेका छन् । उनीहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ बमोजिम सजाय माग गरिएको छ । बोटलर्स नेपाल लिमिटेड (स्थायी लेखा नम्बर ३०००४८३६२) काठमाडौं महानगरपालिका, १६ बालाजु औद्योगिक क्षेत्रमा अवस्थित छ ।