काठमाडौं । वस्तु तथा सेवाको आयात बढ्दा विदेशी मुद्राको सञ्चितिमा उच्च दबाब परेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थासम्बन्धी सात महिनाको प्रतिवेदनअनुसार निर्यातमा सुधार देखिए पनि त्यसको कैयौँ गुणाले आयात बढ्दा व्यापारघाटा बढेको देखिएको छ । व्यापारघाटा बढ्दा यसको सिधा असर विदेशी मुद्राको सञ्चितिमा परेको छ । चालू आवको सात महिनामा वैदेशिक रोजगारीबाट प्राप्त आय (रेमिट्यान्स) पनि घटेकाले विदेशी मुद्राको सञ्चितिमा राष्ट्र बैंकले निकै ठूलो दबाब महशुस गरेको छ ।
प्रतिवेदनअनुसार चालू आवको सात महिनामा कुल वस्तु निर्यात ८८ दशमलव तीन प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात सात दशमलव छ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय १३ प्रतिशत र २७ दशमलव सात प्रतिशतले बढेको भए पनि चीनतर्फको निर्यात भने १२ दशमलव चार प्रतिशतले घटेको छ । प्रतिवेदनअनुसार वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुसलगायतका वस्तुको निर्यात बढ्दा अलैँची, चिया, जडीबुटी, तार, तामाको तारलगायतका वस्तुको निर्यात भने घटेको छ ।
चालू आवको सात महिनामा कुल वस्तु आयात भने ४२ दशमलव आठ प्रतिशतले वृद्धि भई ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । वस्तु आयात बढेकाले पनि यस अवधिमा व्यापारघाटा बढेको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नगन्य अर्थात् शून्य दशमलव शून्य एक प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३० दशमलव नौ प्रतिशत, ४२ दशमलव तीन प्रतिशत र ८३ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायातका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढ्दा एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात भने घटेको प्रतिवेदनमा उल्लेख छ ।
चालू आवको सात महिनामा कुल वस्तु व्यापारघाटा ३८ दशमलव चार प्रतिशतले वृद्धि भई १० खर्ब १५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा शून्य दशमलव सात प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । चालू आवको पछिल्लो अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव सात प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब २८ अर्ब १७ करोडबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब चार अर्ब १३ करोडबराबरको भएको थियो ।
खुद सेवा आय ५५ अर्ब ५९ करोड रुपैयाँले घाटामा
खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा खुद सेवा आय ५५ अर्ब ५९ करोड रुपैयाँले घाटामा देखिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ३७ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय एक सय ९२ प्रतिशतले वृद्धि भई ११ अर्ब ३५ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन अर्ब ८९ करोड रहेको थियो । चालू आवको सात महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९१ दशमलव छ प्रतिशतले वृद्धि भई ३६ अर्ब ३० करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय २२ अर्ब ६० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १८ अर्ब ९५ करोड रहेकोमा शिक्षातर्फको व्यय १५ अर्ब ६७ करोेड रहेको राष्ट्र बैंकको भनाइ छ ।
रेमिट्यान्समा चार दशमलव नौ प्रतिशतले गिरावट
वैदेशिक रोजगारीबाट प्राप्त आय अर्थात् रेमिट्यान्स रकम घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा रेमिट्यान्स रकम चार दशमलव नौ प्रतिशतले घटेर पाँच खर्ब ४० अर्ब १२ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १० दशमलव नौ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह पाँच दशमलव आठ प्रतिशतले कमी आई चार अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव आठ प्रतिशतले बढेकोे राष्ट्र बैंकले जानकारी दिएको छ । चालू आवको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई दुई लाख एक सय दुई पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५ दशमलव चार प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुई सय ६५ दशमलव नौ प्रतिशतले वृद्धि भई एक लाख ५२ हजार तीन सय २५ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३ दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर चार दशमलव दुई प्रतिशतले कमी आई छ खर्ब तीन अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर आठ दशमलव नौ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।
चालू खाता चार खर्ब १३ अर्ब ८६ करोड रुपैयाँले घाटामा
चालू खाता घाटामा देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा चालू खाता चार खर्ब १३ अर्ब ८६ करोडले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब चार अर्ब ३९ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड २१ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा तीन अर्ब ४७ करोडले घाटामा रहेको राष्ट्र बैंकको भनाइ छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.४ प्रतिशतले कमी आई छ अर्ब ३१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० दशमलव छ प्रतिशतले वृद्धि भई १६ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ८३ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी नौ अर्ब दुई करोड रहेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब तीन करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब सात करोडले घाटामा रहेको छ ।