काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएको बताएकी छिन् । पेट्रोलियम पदार्थको आयात घटाउन पनि अब विद्युतीय उपकरण प्रयोग गर्न जरुरी रहेको उनको भनाइ छ ।
विगतको तुलनामा विद्युत् सस्तो भएको र खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्नुपर्नेमा उनले जोड दिइन् । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले ग्याँसको सट्टा इन्डक्सन चुलो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युत्को महसुल घटाएको उल्लेख गर्दै ग्याँसभन्दा सस्तो इन्डक्सन चुलो हुने बताइन् । हाल एक सिलिन्डर ग्याँसको मूल्य एक हजार पाँच सय रुपैयाँभन्दा बढी भएको छ । त्यसको मूल्य निरन्तर बढ्दै जाने उनको भनाइ छ । त्यसैगरी पेट्रोल र डिजेलको मूल्य पनि बढ्दै गएको छ । एक लिटर पेट्रोलको मूल्य एक सय ५० रुपैयाँ तथा एक लिटर डिजेलको मूल्य एक सय ३० रुपैयाँभन्दा बढी पुगेको र आगामी दिनमा तिनको मूल्य निरन्तर बढ्ने भएकाले पनि विद्युतीय साधन प्रयोग गरेर जीवनलाई सहज बनाउनुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्, ‘दिनदिनै पेट्रोलको मूल्य बढेको छ, गाडी किन्नेले पनि अब विद्युतीय नै किन्नुपर्छ ।’
ठूला सहरमा भाडामा बसेर आफ्नो पेसा तथा व्यवसाय गर्नेले पनि अब सजिलै विद्युतीय चुलो प्रयोग गर्नसक्ने बताउँदै उनले आवश्यक क्षमताको छुट्टै मिटर लिएर विद्युतीय उपकरण प्रयोग गर्न सकिने स्पष्ट पारिन् । घरभेटीको सहमतिमा डेरावालाले पनि छुट्टै विद्युत् मिटर राख्न सक्नेगरी निर्णय भएकोले विद्युत् प्राधिकरणमा सम्पर्क गर्न समेत उनले आग्रह गरिन् ।
विद्युतीय उपकरण प्रयोग गर्दा देशको आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्दै मन्त्री भुसालले देशमा विदेशी मुद्राको सञ्चितिलाई सन्तुलित राख्न र जलविद्युत्को भरपुर उपभोग गरेर देशको आर्थिक अवस्था उकास्नका लागि सहयोग गर्न अपिल गरिन् । आगामी आर्थिक वर्षदेखि कृषिका लागि आवश्यक पर्ने विद्युत् निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले कृषिमा आत्मनिर्भर बनाउन सबै क्षेत्रमा सिँचाइको सुविधा पु-याउन आफूले विशेष पहल गरेको र कृषकलाई अधिकतम फाइदा पुग्नेगरी ऊर्जाको सुनिश्चिता गर्ने बताइन् ।