काठमाडौं । नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को अध्यक्षमा डा. रामचन्द्र भुसाल निर्वाचित भएका छन् । जानको शुक्रबार भएको महाधिवेशनले अध्यक्ष पदमा लगातार तेस्रो कार्यकालको लागि भुसाललाई निर्विरोध निर्वाचित गरेको हो ।
जापानको एहिमे विश्वविद्यालयबाट विद्यावारिधि गरेका कृषिविज्ञ डा. भुसाल सार्क जाइका अलमनाईहरुको छाता संगठन जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को वर्तमान महासचिव समेत हुन् । जानको उक्त निर्वाचनबाट सम्पूर्ण पदाधिकारी एवं सदस्य पदहरु समेत निर्विरोध निर्वाचित भएका छन् । जसअनुसार उपाध्यक्षमा केदार पौडेल, महासचिवमा शान्तिलक्ष्मी शाक्य, कोषाध्यक्षमा विभाकालिका मल्ल श्रेष्ठ, सचिवमा डा. किरण रुपाखेती, सहकोषाध्यक्षमा दुर्गाप्रसाद भुसाल र सदस्यहरुमा बुद्धिनारायण श्रेष्ठ, सुशीलकुमार भट्टचन, रोशन बज्राचार्य, गोमादेवी पौडेल, ई. रामेश्वरप्रसाद कलवार र उमा श्रेष्ठ निर्वाचित भएका छन् ।
डा. भुसाल पिस वइन्ड्स जापानको नेपालस्थित कार्यालयका कृषिविज्ञ, पौडेल राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका उपकार्यकारी निर्देशक, शाक्य नेपाल विद्युत् प्राधिकरणकी पूर्वउपकार्यकारी निर्देशक र डा. रुपाखेती राष्ट्रिय योजना आयोगका सह–सचिव हुन् । त्यस्तै बुद्धिनारायण श्रेष्ठ वरिष्ठ सीमाविद्, भट्टचन जाइका नेपालका प्रमुख सल्लाहकार र अन्य पदाधिकारी एवं सदस्यहरु समेत विभिन्न सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुसँग आबद्ध छन् । हरेक तीन वर्षमा जानको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको निर्वाचन हुने गर्दछ ।
जान जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवा निवृत्त सरकारी कर्मचारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिक तथा व्यवसायीको सामाजिक संस्था हो । जान नेपाल सरकार तथा जापान सरकार एवं जनताबीचको परम्परागत मित्रतालाई सुमधुर बनाउनुको साथै अध्ययनको क्रममा जापानमा आर्जित ज्ञान तथा सीप मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ स्थापना भई सन् १९७३ देखि नै क्रियाशील रहँदै आएको बताइएको छ । यसले जापानी राजदूतावास, जाइका नेपाल, नेपाल सरकार र अन्य सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।