काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरू एवं ग्राहकहरूलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल बैंक र पोखरास्थित चरक मेमोरियल अस्पतालबीच भएको सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट र यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोर्डमार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा १० प्रतिशतसम्म छुट हुनेछ । गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौतापत्रमा चरक मेमोरियल हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृण्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।
उक्त कार्यक्रममा हस्पिटलका सञ्चालका समिति अध्यक्ष रामचन्द्र रेग्मीले चरक मेमोरियल हस्पिटलले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी गराउँदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरू एवं ग्राहकहरूलाई न्यूनतम शुल्कमा उच्चस्तरीय स्वास्थ्य सुविधा प्रदान गर्ने अवसर मिलेकोमा आफू धेरै नै खुशी भएको धारणा व्यक्त गरे ।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले गण्डकी प्रदेशअन्तर्गत पोखराको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल चरक मेमोरियल हस्पिटलसँग सहकार्य गर्न पाएकोमा हस्पिटलप्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरू एवं डिजिटल र कार्डमार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटलप्रति आभार समेत व्यक्त गरे । साथै उनले यस विशेष छुट सुविधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरू र ग्राहकहरूले लाभान्वित हुने विश्वास समेत व्यक्त गरे ।