रोम । युक्रेनमाथि रुसले आक्रमण गरेसँगै एकपछि अर्को प्रतिबन्ध लागिरहेका बेला इटालीमा रुसी धनाढ्यको विलासी जहाज जफत भएको छ । इटालीका सरकारी अधिकारीहरुले ५३ करोड युरो मूल्यबराबरको विलासी पानीजहाज जफत गरेको बताएका छन् ।
उक्त पानीजहाज रुसी अर्बपति एन्ड्रे मेल्निचेन्कोको रहेको बताइएको छ । उक्त जहाज एक सय ४३ मिटर लामो रहेको छ । यसलाई विश्वकै ठूलो सुपरयाट मानिन्छ । उत्तरी इटालीको ट्रायस्टा बन्दरगाहमा उक्त सुपरयाट जफत गरिएको इटालीका प्रधानमन्त्री मारियो ड्राघीले बताए ।
युरोपेली युनियनले धेरै रुसी अर्बपतिहरुमाथि प्रतिबन्ध लगाएको छ । सोसँगै धेरै युरोपेली देशहरुले रुसी धनाढ्यका जहाजदेखि अन्य सम्पत्ति जफतसम्मलाई जारी राखेका छन् । गत हप्तामात्रै फ्रान्सेली सरकारी अधिकारीहरुले रुसी अर्बपति इगोर सेचिनकोा ८८ मिटर लामो विलासी पानीजहाज जफत गरेको थियो ।
मेल्निचेन्को एक उद्योगी हुन् । रुसको मल, कोइला, ऊर्जा क्षेत्रमा धेरै ठूलो परिमाणमा सेयर लगानी छ । उनलाई युरोपेली संघले यही हप्ताको सुरुतिर कालोसूचीमा राखेको थियो ।